त्रिविमा आफूले हस्तक्षेप नगरेको प्रधानमन्त्री ओलीको प्रष्टीकरण

राष्ट्रपाटी न्युज

मंसिर २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफूले कुनै हस्तक्षेप नगरेको प्रष्टीकरण दिएका छन् । त्रिभुवन विश्वविद्यालयको साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेरिटोक्रेसीमा प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने बताएका छन् ।

बैठकमा कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलतिले गर्ने स्मरण गराउँदै विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको बताएका छन् ।

आफ्नो कुनै हस्तक्षेप नभएको भन्दै निष्पक्ष ढंगले काम गर्नुपर्ने ओलीले बताए । उनले मेरिटोक्रेसी नामको मात्रै नहोस् भन्नेमा पनि सचेत गराएका छन् ।

बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डिन र क्याम्पस प्रमुखहरूको नियुक्ति नभएको भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आउँदो पुस ७ गतेभित्र ती नियुक्ति गरिसक्न निर्देशन पनि दिएका छन् ।

ओलीले भने ‘सबैले गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून्, सिंगो सामाजिक विषय शिक्षामा आउनुपर्‍यो । शिक्षा क्षेत्र मुक्त मनले चल्नुपर्छ तर त्रिवि आफ्ना नियम र कानुनको परिधिमा रहेर चल्लुपर्छ, त्रिविको स्वायत्तता व्यक्तिगत होइन, त्यो स्वायत्तता सिनेटमापर्फत अधिकार प्रत्यायोजन गर्दै लगिने विषय हो ।’

सभाबाट त्रिवि सेवामा प्रवेशका लागि सेवा योग्यता प्रशिक्षण परीक्षाको व्यवस्था गर्ने लगायत १२ बुँदे नीति पारित भएका छन् । प्रधानमन्त्री ओलीले विश्वविद्यालय सुधारका विविध विषयमा अनौपचारिक छलफल गर्न आगामी पुस ७ गतेका लागि समय निर्धारण गरेका छन् ।


Published :मंसिर २७, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media