पाथीभरा मन्दिरसहित उच्च क्षेत्रमा हिमपात, जनजीवन प्रभावित

काठमाडौँ । सामान्य वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा मङ्गलबार साँझदेखि हिमपात भएको छ। तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने तीर्थस्थल पाथीभरा मन्दिरसहित जिल्लाका उत्तरी उच्च क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ।

पाथीभरा मन्दिर जाने पदमार्गअन्तर्गत फेदीको बस्तीसहित सोभन्दा माथि हिमपात भइरहेको फेदीस्थित प्रहरी चौकीका हबल्दार मिलन कटुवालले जानकारी दिए। हिमपात भए पनि जनजीवनमा सामान्य रहेको उनको भनाई छ।

यसपटक लामो समयपछि जिल्लाको केही ठाउँमा सामान्य वर्षा भएको हो। हिउँद लागेपछि लामो समयसम्म पानी नपर्दा हिउँदे बालीनाली लगाएका किसानलाई भने समस्या भइरहेको थियो। सामान्य वर्षा र हिमपात हुन सुरु भएपछि भने यसले केही राहत पुग्ने किसानले बताएका छन्।

केही दिनयता चिसो बढेसँगै पाथीभरामा तीर्थयात्रीको आगमनको सङ्ख्या घटेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। बर्सेनि हिउँ परेपछि भने पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको छ।


Published :पुस २४, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media