कानूनको रक्षक सरकार आफैँ कानूनको भक्षक बनेको माधव नेपालको आरोप

राष्ट्रपाटी न्युज

४ फाल्गुन २०८१

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, विचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले दलाल पुँजीलाई र विचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको  आरोप लगाए ।नेपालले  यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरुलाई आग्रह पनि गरेका छन् ।

अध्यक्ष नेपालले समितिमा विचाराधिन रहेका विधेयकहरु फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको भन्दै कानूनको रक्षक हुनुपर्ने सरकार आफैँ कानूनको भक्षक बनेको  आरोप पनि लगाए ।

अध्यक्ष नेपालले आफूहरुले विपक्षी दलहरुलाई बोलाएर सरकारको खबरदारी गरेको भन्दै  आफूहरुले दिएको दबाबबाट आत्तिएर सरकार संसद अधिवेशन बोलाउन बाध्य भएको दाबी गरे । दबाबकै कारण संसदमा पेश गरेको अध्यादेश तत्काल अघि नबढाइएको पनि नेपालले बताए  ।


Published :४ फाल्गुन २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media