मनिषालाई नेपाली चलचित्रमा काम गर्ने चाहना

राष्ट्रपाटी न्युज

चैत्र ११, २०८१

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताएकी छन् । चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी उनले त्यसपछि  ‘धर्मा’मा अभिनय गरिन् ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताइन् ।

उनले भनिन्, “म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ ।”
पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।”

विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उनको बुझाइ छ । उनले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गरिन ।

“मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो”, अभिनेत्री कोइरालाले भनिन ।

कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त गर्यो। भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गरेकी सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गरेकी थिइन।

“मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो”, उनले भनिन ।

अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताइन् ।


Published :चैत्र ११, २०८१


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media