सरकार र आन्दोलनरत शिक्षकबीच आज वार्ता हुँदै

राष्ट्रपाटी न्युज

२७ चैत्र २०८१

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच आज (बिहीबार) वार्ता हुने सम्भावना छ । सरकारले पटक–पटक आह्वान गरेको वार्तामा बस्न अस्वीकार गर्दै आएको नेपाल शिक्षक महासंघ शिक्षा मन्त्रालयसँग संवाद गर्न तयार भएको हो ।

मन्त्रालयले ‘शिक्षा विधेयकमा छलफल गर्न’ भन्दै बुधबार पत्राचार गरेपछि महासंघले आज छलफल गर्ने भएको हो । छलफलमा गए पनि आन्दोलन जारी रहने महासंघले जनाएको छ । शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमबारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन् ।

सरकारले २१ र २६ चैतमा विज्ञप्ति मार्फत र २२ चैतमा पत्र लेखेर शिक्षकहरूलाई वार्तामा बोलाएको थियो । तर, विगतमा भएका सहमति मन्त्रिपरिषद्बाट अनुमोदन र विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चिततासहितको प्रतिबद्धता सरकारी निकायबाट आए मात्र वार्तामा बस्ने महासंघले अडान राखेको थियो ।

महासंघले वार्ता र सहमति गर्नेभन्दा पनि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने आफ्नो मुख्य माग रहेको जनाएको छ । विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य समितिको उपसमितिमा दफाबार छलफलको चरणमा छ ।

दफाबार छलफल छिटो सकेर आउँदो बर्खे अधिवेशनमा विधेयक पारित गर्ने शिक्षा मन्त्रालयको भनाइ छ । शिक्षकहरू स्थानीय तह मातहत नबस्ने अडानमा रहेकाले समस्या देखिएको छ । यो माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने अवस्था छ ।

अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, दरबन्दी थप गर्नुपर्ने, बालविकास शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी व्यवस्था गर्नुपर्ने माग पूरा गर्न पनि चुनौती देखिएको छ ।


Published :२७ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media