काठमाडौं । नेपाल शिक्षक महासंघले आयोजना गरेको प्रदर्शनका क्रममा माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेपछि प्रहरी र शिक्षकबीच धकेलाधकेल भएको छ ।
२० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको शिक्षकहरूले मुख्य सडकमा नाचगानसहित प्रदर्शन गरेका कारण प्रदर्शन अवधिभर मुख्य लेन भएर गाडी गुड्न पाएका छैनन् । दुवै तर्फका सहायक लेनबाट भने मंगलबारसम्म निर्वाध गाडीहरू गुडिरहेका थिए । तर शिक्षकहरूले बुधबार बीचको लेनसहित उत्तरतर्फको लेनमा समेत प्रदर्शन गर्यो । जसले उत्तरतर्फको लेन अर्थात् माइतीघरबाट बानेश्वर आउने सडकमा पनि गाडी गुड्न पाएनन् ।
बुधबारसम्म दक्षिणतर्फको लेन अर्थात बानेश्वरबाट माइतीघरतर्फ गाडी गुडिरहेका थिए । तर आज बिहीबार शिक्षकहरूले दक्षिण तर्फको लेन पनि कब्जा गरेर प्रदर्शन गरेपछि बानेश्वरबाट माइतीघरतर्फ गइरहेका गाडीलाई समेत अवरोध भएको छ ।
बानेश्वर भएर माइतीघरतर्फ गइरहेको गाडीलाई शिक्षकहरूले अगाडि बढ्न नदिँदा बिजुली बजार पुल क्षेत्रमा केही बेर प्रहरी र आन्दोलित शिक्षकहरूबीच धकेलाधकेलसम्मको अवस्था सिर्जना भएको छ । अहिले पनि तीन वटै लेन कब्जा गरेर शिक्षकहरूले प्रदर्शन गरिररहेका छन् ।
आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भनिए पनि समय भने तय भइसकेको छैन ।