सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली

राष्ट्रपाटी न्युज

२७ चैत्र २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने सङ्कल्प प्रकट भएकामा खुसी व्यक्त गरे । उनले निजी क्षेत्र विकासका लागि आत्मविश्वासका साथ अघि बढेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट गरे ।

“सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रूपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश बनाउनुपर्छ । तीव्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने, “निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो ।”

प्रधानमन्त्री ओलीले  लगानीको वातावरण सुधार गर्न विभिन्न कानुनमा महत्त्वपूर्ण परिवर्तन गरेको र यी कानुनी सुधारको उद्देश्य पारदर्शिता बढाउने, प्रक्रियागत झन्झट कम गर्ने र स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको विश्वास बढाएको बताए ।

प्रधानमन्त्री ओलीले जनतालाई सेवा र सुविधा दिन विद्यमान प्रणाली स्थापना भएको र अहिलेको सरकारले यस प्रणालीलाई बलियो बनाउँदै उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको जनाए । उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको पनि स्पष्ट गरे ।

उनले निजी क्षेत्रको छाता संगठनका रूपमा रहेको महासंघले औद्योगिक तथा व्यावसायिक समुदायको व्यवसाय प्रवर्द्धनमा मात्र नभई नेपालको आर्थिक विकास र समृद्धि अघि बढाउन आफ्नो सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्र अहिले देशको आर्थिक विकास र समृद्धिका लागि सँगसँगै अघि बढेको बताए ।

कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ट प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।


Published :२७ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media