पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउन माग

राष्ट्रपाटी न्युज

२८ चैत्र २०८१

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाउँदा पनि प्रहरीले शालिनता प्रस्तुत गरेको बताएका छन् ।

कानून समितिको बैठकमा बोल्दै उनले तीनकुनेमा ठूलो मानवीय क्षति हुनसक्ने भिडिओहरुबाट देखिएको बताउँदै दुर्गा प्रसाईं प्रहरीको नियन्त्रणमा आइपुगेको र कोही कसैलाई पनि उन्मुक्ति नदिइ कानून बमोजिम कारवाहीको दायरामा ल्याउन सरकारको दृढतापूर्वक पहलकदमी हुनुपर्ने बताएका छन् ।

त्यस्तै उनले कहिँ न कहिँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा पनि ल्याइनुपर्ने बताउँदै भने, ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ । त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ । यति ठूलो घटना हुँदा उहाँले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन्, त्यो घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छैन । पूर्वराजाबारे पनि सार्वजनिक प्रश्न उठेको छ ।”

त्यस्तै नेपाली कांग्रेसका सांसद तथा सहमहामन्त्री जीवन परियारले पनि काठमाडौँको तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहसँग सोधपुछ गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

संसदीय समितिको बैठकमा बोल्दै परियारले चैत १५ गते भएको राजावादीको हिंस्रक प्रदर्शनबारे सोधुपुछ गर्न शाहलाई बोलाउनुपर्ने बताउँदै भने “नवराज सवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति आयोजक हो । पोखराबाट काठमाडौं आउँदा जनताले स्वागत गरेका छन्, पूर्वराजालाई तीनकुने घटनाका सम्बन्धमा सोधपुछ गर्न समितिमा बोलाऔँ । तपाईं यो घटनामा संलग्न हुनुहुन्छ कि हुनुहुन्न भनेर सोधौँ ।”


Published :२८ चैत्र २०८१


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media