काठमाडौं । अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल प्रवेश गरेका चार भुटानी शरणार्थीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई आगामी वैशाख ११ गते अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
चारै जनाको थुनामुक्ति माग गर्दै नारायण कुमार सुवेदीले बन्दी प्रत्यक्षीकरण (हबियस कर्पस) रिट दायर गरेका थिए । चारै जना नेपाली मूलका भुटानी हुन्, जो नेपालमा शरणार्थीका रूपमा दर्ता भई पछि अमेरिका पुनर्वास भएका थिए ।
उनीहरूलाई अमेरिकाले गत चैत ११ गते डिपोर्ट गरेको थियो । त्यसपछि भारत हुँदै भुटान पुगेका थिए, तर भुटानले उनीहरूलाई प्रवेश अस्वीकार गर्दै देश निकाला गरेको थियो । त्यसपछि नेपाल प्रवेश गरेका उनीहरूलाई अध्यागमन विभागले नियन्त्रणमा लिई देश निष्कासनको प्रक्रिया अघि बढाएको थियो ।