नेपालमा पहिलोपटक सफल लिंग परिवर्तन शल्यक्रिया

राष्ट्रपाटी न्युज

जेष्ठ २६, २०८२

काठमाडौं । नेपालमा पहिलोपटक एक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको सफलतापूर्वक लिंग परिवर्तन शल्यक्रिया (मेल टु फिमेल) गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै यो ऐतिहासिक उपलब्धिको जानकारी गराएको हो ।

अस्पतालको प्लास्टिक, रिकन्स्ट्रक्टिभ तथा एस्थेटिक सर्जरी विभागले २०८२ जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको विशेष सर्जिकल क्याम्प अन्तर्गत अनुहार, स्तन तथा जननेन्द्रिय सम्बन्धी विभिन्न शल्यक्रियाहरू सम्पन्न गर्ने क्रममा यो महत्त्वपूर्ण शल्यक्रिया गरिएको थियो।

अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार, “जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई आवश्यक मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रीय अंगको पुनर्निर्माण गरिएको हो । यसले ती व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।”

यो जटिल शल्यक्रिया विदेशी विशेषज्ञ प्लास्टिक सर्जन डा. अलिरेजा हामिदियन जारोमीको नेतृत्व तथा विभागीय प्रमुख प्रा.डा. जयन मान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो। शल्यक्रिया टोलीमा डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समीत शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला, रेजिडेन्ट डाक्टर डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा र डा. अस्विनको सक्रिय सहभागिता थियो। एनेस्थेसिया सेवामा डा. मेघा कोइराला र डा. पंकज जोशीको टोलीले सहयोग गरेको थियो।

यस सफलतासँगै विभागीय प्रमुख डा. जयन मान श्रेष्ठले शिक्षण अस्पतालमा लिंग पुष्टिकरण क्लिनिक (Gender Affirmation Clinic) स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। यस क्लिनिकमार्फत ट्रान्सजेन्डर समुदायका लागि आवश्यक शारीरिक तथा मानसिक मूल्यांकनपछि लिंगीय पुनर्निर्माणसहितका सेवाहरू नियमित रूपमा उपलब्ध गराइने योजना रहेको छ।

हालसम्म यस्तो सेवा लिनका लागि विदेश जानुपर्ने र निकै महँगो खर्च बेहोर्नुपर्ने बाध्यता रहेकोमा अब नेपालमै यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ। प्रा.डा. गोपाल सेढाईले “हालसम्म यो अपरेसन गर्न विदेश जानुपर्ने बाध्यता भएको र धेरै खर्चिलो पनि हुने गरेको थियो। तर नेपालमा यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्छ,” भने ।

यस कार्यक्रमले सामाजिक, मानसिक, भावनात्मक र शारीरिक रूपमा फरक पहिचान बनाएका ट्रान्सजेन्डर व्यक्तिहरूलाई सम्मान र स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने महत्त्वपूर्ण उद्देश्य राखेको छ।


Published :जेष्ठ २६, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media