सर्वसम्मतिले राखेको ‘कुलिङ पिरियड’मा उपदफा थपिएर संसद्‍ पुगेकोमा हाम्रो दोष छैनः रामहरि

राष्ट्रपाटी न्युज

असार १७, २०८२

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारीसम्बन्धी विधेयकबाट कुलिङ पिरियडसम्बन्धी व्यवस्था हटाउन गरिएको बदमासीबारे नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा स्पष्टीकरण दिएका छन् ।

कांग्रेस बैठकमा समय लिएर ‘कुलिङ पिरियड’ विवादबारे स्पष्टीकरण पेश गरेका उनले कसले बदमासी गर्‍यो छानबिन हुनुपर्ने तर्क गरेका छन् ।

उनले राज्य व्यवस्था समितिका सबै सदस्य ‘कुलिङ पिरियड’ राख्न प्रतिबद्ध भएर लागेको बताए ।

‘कुलिङ पिरियड’ राख्न समितिका हामी सबै साथीहरू निष्ठापूर्वक लागेका हौँ । यसमा हाम्रो केही दोष छैन । हामीले दोषीलाई कारबाही गर्न सभामुखलाई आग्रह गरेका छौँ’, उनले भने, ‘सेवानिवृत्त भएको व्यक्ति दुई वर्षसम्म स्वीकृति लिएर आउन नपाओस् भनेर लेखेका थियौँ । तर नयाँ उपदफा हालेर कानुन मन्त्रालयले स्वीकृति दिने भनेर लेखिएको रहेछ ।’

उनले निजामती सेवा विधेयकबारेमा कांग्रेसकै सांसद दीलेन्द्र बडूको संयोजकत्वमा उपसमिति पनि बनाएको बताए ।

खतिवाडले समितिबाट तयार ‘कुलिङ पिरियड’को व्यहोरा दफा ८२ को उपदफा (३) पछि उपदफा (४) थप गरी उपदफाक्रम मिलाउने काम भएको बताए । उनले विधेयकबारे भनेका छन्, ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन’, भनेर हामीले लेखेका थियौँ ।

उनले कांग्रेसमा स्पष्टीकरण दिने क्रममा वर्षौँसम्म सरकारी सेवामा कार्यरत कर्मचारी अवकाशपछि दुई वर्ष कतै जान नपाउने व्यवस्था स्पष्ट लेखिएको पनि बताए । तर अहिले त्यसैमा बदमासी गरेर नयाँ उपदफा थपिएको उनले बताए ।


Published :असार १७, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media