तिरुपति स्कुल/कलेजमा अभिभावक विद्यालय अनुगमन कार्यक्रम शुरु

राष्ट्रपाटी न्युज

साउन २६, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त तिरुपति स्कुल/कलेजले निजी विद्यालयको इतिहासमा नै नयाँ उदाहरण प्रस्तुत गर्दै गत महिना देखि “अभिभावक विद्यालय अनुगमन कार्यक्रम” सुरु गरेको छ। यस कार्यक्रमअन्तर्गत, अभिभावकलाई एक दिनको लागि विद्यालयमा प्रधानाध्यापकजस्तै भूमिकामा रहने र विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरिएको प्रिन्सिपल तेञ्जिङ्ग भोटियाले जानकारी दिएका छन् ।

कार्यक्रम अनुसार, चयनित अभिभावकले आफ्नो बालबालिका अध्ययनरत कक्षामा दिनभर बस्ने, कक्षाको हरेक गतिविधि नियालेर हेर्ने, शिक्षण–अध्ययन पद्धति मूल्यांकन गर्ने, र आवश्यक सुधारका लागि सम्बन्धित शिक्षक, कोअर्डिनेटर तथा प्रधानाध्यापकलाई सुझाव दिने अवसर पाउँछन्। यसरी, अभिभावकहरू विद्यालयको गुणस्तर अभिवृद्धिमा प्रत्यक्ष सहभागी हुने र निर्णय प्रक्रियामा पनि आफ्नो योगदान दिन सक्नेछन्।

विद्यालयका अनुसार, कार्यक्रमको मुख्य उद्देश्य विद्यालय, विद्यार्थी र अभिभावकबीचको विश्वास, पारदर्शिता र सहकार्यलाई अझ मजबुत बनाउनु हो। यसले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विद्यालयको विश्वास छ।

कार्यक्रममा सहभागी अभिभावकहरूले यो पहललाई अत्यन्तै पृथक, प्रेरणादायी र प्रभावकारी भनेका छन्। उनीहरूका अनुसार, यस प्रकारको प्रत्यक्ष संलग्नताले विद्यालयमा सुधारका सम्भावना बढाउने मात्र नभई विद्यार्थीहरूको व्यवहार, अनुशासन र सिकाइमा पनि सकारात्मक प्रभाव पार्नेछ।

प्रधानाध्यापकले भोटियाले भने, “विद्यालयको वास्तविक अवस्था अभिभावकले आफ्नै आँखाले हेर्ने अवसर पाउनु, पारदर्शी शिक्षा प्रणाली निर्माणतर्फको हाम्रो दृढ कदम हो।”

तिरुपति स्कुल/कलेजले आगामी दिनमा यो कार्यक्रमलाई अझ व्यवस्थित गर्दै निरन्तर सञ्चालन गर्ने र अभिभावकको सुझावलाई विद्यालय सुधार योजनामा समावेश गर्ने घोषणा समेत गरेको छ।


Published :साउन २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media