दुर्गा प्रसाईलाई तत्काल रिहा गरी सार्वजनिक भिडिओको जवाफ दिन ओलीको माग

राष्ट्रपाटी न्युज

मंसिर ३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै तत्काल रिहा गर्न आग्रह गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिको भूमिकाबारे आयोजित अन्तरक्रियामा उनले प्रसाईंले दिउँसो भिडिओ सार्वजनिक गरेपछि राति नै पक्राउ गरिएको भन्दै सरकारसँग त्यस भिडिओको स्पष्ट जवाफ मागे।

ओलीले भने, “दुर्गा प्रसाईंले दिउँसो भिडिओ निकाल्छन्, राति सरकारले समात्छ। त्यस भिडिओमा उठाइएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन ? केवल प्रहरी पठाएर समातेर समस्याको समाधान हुन्छ ? प्रसाईंले सोधे नसोध्लान्, तर अब संसारले सोध्छ।”

उनले प्रसाईंले ‘भएका घटना’ नै सार्वजनिक गरेको दाबी गर्दै सरकारले कानूनविपरीत काम गरेको आरोप लगाए। अभिव्यक्तिको आधारमा पक्राउ गर्न मिल्दैन भन्दै उनले मानवअधिकार आयोगकै अभिमतलाई स्मरण गराए। “मानवअधिकार आयोगले बोल्नुका कारण कसैलाई थुन्न नपाइने भनिसकेको छ। सरकारले मानवअधिकार उल्लंघन गर्ने अधिकार पाउँदैन,” ओलीले भने।

ओलीले थपे, “म सरकारलाई स्पष्ट रूपमा भन्छु—दुर्गा प्रसाईंलाई तुरुन्तै छोड्नुस्। बोलेको भरमा थुन्न मिल्दैन। दिउँसो भिडियो निस्क्यो, बेलुका पक्राउ गरियो। यस्तो हतारमा किन ? सरकारसँग त्यो भिडियोको जवाफ छ कि छैन ? म प्रधानमन्त्री र गृहमन्त्री दुवैलाई सोध्छु।”

उनका अनुसार प्रसाईंले उठाएका प्रश्नहरूको ‘जवाफ दिनुको साटो रातारात पक्राउ गरेर सरकारले स्वेच्छाचारिता प्रदर्शन गरेको’ छ। सरकारको कामशैलीलाई ‘तमासा’ भएको उल्लेख गर्दै उनले भने, “उत्तेजित भएर गिरफ्तार गर्नु हुँदैन। कुन कुरामा थुन्ने, कुन कुरामा नथुन्ने भन्ने मापदण्ड नै छैन। बिहान गिरफ्तार गरेको भए के हुन्थ्यो ? राति–राति यस्तो स्वेच्छाचारी शैली कस्तो ?”


Published :मंसिर ३, २०८२


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media