
काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट प्रदर्शन जारी राख्दै शुक्रबार पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको छ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १९३ रनको बलियो योगफल बनाएको थियो।
सुदूरपश्चिमका ओपनर जोस ब्राउनले ३५ बलमा ६८ रनको आक्रामक अर्धशतकीय पारी खेले। उनले पाँच छक्का र छ चौका प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे। यस सिजन सुदूरपश्चिमका लागि अर्धशतक प्रहार गर्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि हरमित सिंहले काठमाण्डू गोर्खाजविरुद्ध २० बलमा ५३ रन बनाएका थिए।
अर्का ओपनर विनोद भण्डारीले पनि ४३ रनको योगदान दिए। दुवै ओपनरले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गर्दै टिमलाई बलियो सुरुआत दिलाए।
क्रिस लिनले १३ बलमा ३१ रन जोडे भने कप्तान दीपेन्द्रसिंह ऐरी १५ रनमा आउट भए। इशान पाण्डे ६ र नरेन साउद ४ रनमा अविजित रहे।
बलिङतर्फ पोखराका जेम्स निसमले तीन विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे। डान डाउथवेट र आकाश चन्दले पनि तीन–तीन विकेट हात पारे।
लक्ष्य पछ्याउँदै मैदान उत्रिएको पोखरा एभेन्जर्स निर्धारित ओभरमा लक्ष्यभन्दा १८ रनले कममा समेटिँदा पराजित भयो।
दुवै टोलीको यो दोस्रो खेल थियो। पहिलो खेलमै सुदूरपश्चिम विजयी बनेको थियो भने पोखरा पराजित भएको थियो ।