
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले आज जेन–जी आन्दोलनकारी, शहीद परिवार र घाइतेका तीनवटा समूहसँग छलफल गरेकी छन् ।
सिंहदरबारमा भएको छलफलका क्रममा तीनवटै समूहले तत्काल सरकार र आन्दोलनकारीबीच सम्झौतामा हस्ताक्षर हुनुपर्ने, दमनकारीमाथि कारबाहीमा ढिलाइ गर्न नहुने, प्रतिक्रान्ति गर्न दमनकारीहरु सल्बलाएकाले त्यसलाई नियन्त्रण गर्नुपर्ने विषय जोडतोडले उठाए ।
प्रधानमन्त्री कार्कीले सम्झौताको तयारी अन्तिम चरणमा पुगेको र राष्ट्रपतिसँग सल्लाह गरी निष्कर्षमा पुग्ने बताइन् । जेन–जी आन्दोलनका घाइते तथा शहीदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जान नसक्ने भएकाले माग पूरा हुनेमा ढुक्क रहन पनि उनले बताइन्। कतिपय विषयमा सरकारको संवैधानिक र कानूनी सीमा पनि ख्याल गरिदिन उनले आग्रह गरिन् ।
प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि उनीहरुलाई सुझाव दिइन् ।