
भद्रपुर । भद्रपुर विमानस्थलमा शुक्रबार राति बुद्ध एयरको जहाज दुर्घटनामा परेपछि रनवे छोट्याएर विमानस्थल सञ्चालनमा ल्याइएको छ ।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाग्रस्त जहाजको पछिल्लो भाग अफ–ट्रयाकमा परेकाले हाल रनवे १ हजार ५ सय मिटरबाट घटाएर १ हजार ४ सय मिटरमा सीमित गरिएको हो ।
उहाँले रनवे छोट्याएर विमानस्थल सञ्चालन गरिएको जानकारी सबै पाइलटलाई नियमित रूपमा दिइँदै आएको बताउनुभयो । हाल प्रयोगमा रहेको १ हजार ४ सय मिटर रनवे जहाज सञ्चालनका लागि पर्याप्त रहेको पनि उनको भनाइ छ ।
विमान दुर्घटनाको यकिन कारण भने हालसम्म नखुलेको विमानस्थल प्रमुख खत्रीले जानकारी दिए । उनका अनुसार शुक्रबार राति ९ बजेर १० मिनेटमा अवतरण गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो । सो समयमा मौसम सफा रहेकाले मौसमका कारण दुर्घटना नभएको र सम्भवतः प्राविधिक कारण हुन सक्ने अनुमान गरिएको उनले बताए । वास्तविक कारण भने अनुसन्धानपछि मात्र खुल्ने उनको भनाइ छ ।
काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो । जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए ।
दुर्घटनाको आवाज सुनेपछि स्थानीय बासिन्दाले यात्रुहरूको उद्धार गरेको भद्रपुरका स्थानीय मित्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जना यात्रु केही समयसम्म जहाजभित्रै रहेका थिए ।
दुर्घटनामा परी जहाजका सह–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् । सह–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र उहाँको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा उपचार भइरहेको छ । अन्य छ जना यात्रु सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
हाल दुर्घटनाग्रस्त जहाजलाई रनवेबाट हटाउने कार्य जारी रहेको विमानस्थल प्रशासनले जनाएको छ ।