सर्वपक्षीय/सर्वदलीय बैठकपछि वीरगञ्जको कर्फ्यु हट्यो

वीरगञ्ज । वीरगञ्जमा बसेको सर्वपक्षिय/सर्वदलीय बैठकले प्रदर्शन नगर्ने निर्णय गरेको छ ।

जिल्लाका प्रशासन कार्यलय पर्सामा बसेको बैठकले उक्त निर्णय गरेको हो । विगत केही दिनदेखि भइरहेको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै शान्ति–सुव्यवस्था कायम गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।

बैठकले अन्य मुलुक वा स्थानमा भएका घटना तथा दुर्घटनालाई आधार बनाएर वीरगञ्जमा आन्दोलन तथा प्रदर्शन नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

पीडित पक्षले आन्दोलनका कार्यक्रम सञ्चालन गर्नुअघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेश गर्नुपर्ने निर्णय गरेको गरिएको प्रमुख जिल्ला आधिकारी दाहालले जानकारी दिए । ज्ञापनपत्र पेश गरेपछि मात्र आन्दोलनका कार्यक्रम अघि बढाउन जोड दिइएको छ । भविष्यमा हुनसक्ने धार्मिक, सामाजिक सद्भावविरुद्धका गतिविधि नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्ला सद्भाव संयन्त्र गठन गरिएको उनले बताए ।

उनका अनुसार संयन्त्रमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि र विभिन्न धार्मिक समुदायका अगुवाहरू रहनेछन् । संयन्त्रमा हिन्दु समुदायबाट रञ्जित शाह र रञ्जन सिंह तथा मुस्लिम समुदायबाट महमद महबुव अली शेरु र अली अस्गर मदानी सदस्य रहने निर्णय भएको उनले जानकारी दिए । आवश्यकताअनुसार अन्य धार्मिक समुदायका प्रतिनिधि पनि समेटिने जनाइएको छ । साथै जिल्लास्थित प्रत्येक राजनीतिक दलबाट एक–एक जना प्रतिनिधि रहनेछन् । नेपाल पत्रकार महासंघका अध्यक्ष र नागरिक समाजका प्रतिनिधि पनि संयन्त्रमा सहभागी रहने व्यवस्था गरिएको छ ।

बैठकले सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारण गर्दा सामाजिक सद्भावमा खलल नपुग्ने गरी संयम अपनाउन अनुरोध गरेको छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव विथोल्न प्रोत्साहन गर्ने समूह वा आन्दोलनकारीलाई कानूनि दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णय पनि गरिएको प्रजिअ अधिकारीले बताउनु भयो । वैठकमा सबै पक्षले आ–आफ्नो समुदायभित्र भएका कमजोरीको आत्मसमीक्षा गर्दै अनुशासन, आत्मसंयम र सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गरेका छन् । बैठकमा उपस्थित सबैले निर्णयलाई आ–आफ्नो सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सार्वजनिक गर्दै निर्णयको पक्षमा विज्ञप्ति जारी गर्ने सहमति पनि भएको छ ।

कर्फ्यु हटाइयो

जिल्ला प्रशासन कार्यलय पर्साले वीरगञ्जमा जारी गरेको कफ्र्यु आदेश हटाएको छ । प्रशासनले मंगलवार विज्ञप्ति जारी गरी ३ः३० बजेदेखि नै लागू हुनेगरि कफ्र्यु आदेश हटाइएको जानकारी दिएको हो । सर्वपक्षिय वैठकले जिल्लाको शान्ति सुव्यवस्था सुढुड हुँदै गएकोले कफ्र्यु आदेश हटाइएको छ । प्रशासनले सोमवारदेखी कफ्र्यु आदेश जारी गरेको थियो ।


Published :पुस २२, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media