कांग्रेस विशेष महाधिवेशनको तयारी पूरा, ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वान हुन लागेको विशेष महाधिवेशनको तयारी पूरा भएको छ। आइतबार सुरु हुने विशेष महाधिवेशन तयारी सम्पन्न भएको विशेष महाधिवेशन पक्षले जनाएको हो। मञ्च व्यवस्थापनको काम पनि सकिएको छ।

भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटनसत्रका लागि मञ्च सजावटको काम सकिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले बताए। उनका अनुसार विशेष महाधिवेशन उद्घाटन समारोहमा मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको व्यवस्थापन गरिएको छ।

खुला चौरमा ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको भने मञ्चवरिपरि कांग्रेसको झण्डा, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखिएको छ।

विहान ११ बजे काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ। विशेष महाधिवेशनको उद्घाटन भोलि दिउँसो १ बजे हुने बताइएको छ।

विशेष महाधिवेशन पक्षधरले सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता शेखर कोइराला लगायतलाई अतिथिका रूपमा निम्तो गरेका छन्। तर, उनीहरु विशेष महाधिवेशनमासहभागी हुने सम्भावना अहिलेसम्म देखिएको छैन। अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन्।

विशेष महाधिवेशन आयोजक समितिले महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरेको छ। विशेष महाधिवेशनको माग गरी असोज २९ गते पार्टी कार्यालय सानेपामा दर्ता गर्दा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर थिए।

मंसिर १५ मा पुस १६ बाट सुरु हुने गरी नियमति महाधिवेशनको कार्यतालिका आएपछि विशेष महाधिवेशनको प्रक्रिया रोकिएको थियो। पुस १६ मा नियमित महाधिवेशन सम्भव नभएर आगामी वैशाख २८-३१ को कार्यसूची आएपछि महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ का लागि विशेष महाधिवेशन अगाडि बढाएका छन् ।


Published :पुस २६, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media