रास्वपा झापा ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल एमाले प्रवेश

राष्ट्रपाटी न्युज

फाल्गुन ४, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको झापा–५ मा रास्वपाका सक्रिय नेता खनालको एमाले प्रवेशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

एमाले प्रवेश गर्दै खनालले वर्तमान राजनीतिक घटनाक्रमले देशको राष्ट्रियतामाथि गम्भीर आँच पुर्‍याएको दाबी गरे । उनले देशमा वैदेशिक शक्तिहरूको चलखेल बढेको र यस्तो विषम परिस्थितिमा राष्ट्रवादी शक्तिलाई बलियो बनाउनु पर्ने बताए । खनालले भने, ‘जुन घटनाक्रम घटिरहेका छन् त्यो चाहिँ एकदम अहिले राष्ट्रियतामाथि नै आँच आउने खालका छन् । यस्तो विषम परिस्थितिमा राष्ट्रियताको पक्षमा उभिने राष्ट्रवादी नेतालाई सपोर्ट गरौं भनेर हामी केपी ओली जस्ता नेतालाई साथ दिन आएका हौँ ।’

उनले विदेशी फाउण्डेसन र साम्राज्यवादी शक्तिहरूको ‘नाङ्गो नाच’ नेपालमा भइरहेको आरोप लगाए । खनालले मिडिया ट्रायलका आधारमा मात्र नभई सूक्ष्म र गहन ढंगले अनुसन्धान गरेर देशको भविष्य र वर्तमान स्थितिको विश्लेषण गर्नुपर्ने बताए । उनले झापा ५ का युवाहरू राष्ट्रवादी धारमा उभिन तयार रहनु पर्ने पनि बताएका छन् ।


Published :फाल्गुन ४, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media