लक्ष्मी महतो कोइरीलाई समर्थन गर्दै उनेपाका उम्मेदवार नै एमाले प्रवेश

राष्ट्रपाटी न्युज

फाल्गुन १८, २०८२

बर्दिबास । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–१ मा आगामी फाल्गुन २१ गते हुने मध्यावधि निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीका उम्मेदवार मनोजकुमार गुप्ता नेकपा (एमाले) मा प्रवेश गर्दै एमालेका उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

एक कार्यक्रमबीच गुप्ताले एमाले उम्मेदवार कोइरीलाइ समर्थन गरेको हो । गुप्तालाई एमालेका केन्द्रिय सदस्य तथा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादव, स्कुल विभाग प्रमुख शंकर महतो, प्रदेस सभा सदस्य शारदा थापासहित उम्मेदवार गुप्तालाई अबिर, खादा, पार्टीको झण्डा दिएर एमाले पार्टीमा स्वागत गरेका छन् ।

सोमबार गुप्ताले जारी गरेको गरिएको प्रेस विज्ञप्तिमा गुप्ताले वर्तमान भू–राजनीतिक शक्ति संघर्ष र देशभित्रको राजनीतिक अस्थिरताले राष्ट्रिय संकट सिर्जना गरेको उल्लेख गर्दै यस संकटको समाधानका लागि स्थिर, सक्षम र दूरदर्शी नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले मध्यावधि निर्वाचनलाई देशलाई स्थिरता, सुशासन र समृद्धिको दिशातर्फ अघि बढाउने ऐतिहासिक अवसरको रूपमा व्याख्या गरेका छन् ।

गुप्ताले लामो संघर्षबाट प्राप्त जनपक्षीय संविधान, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक मूल्य–मान्यता र सामाजिक न्यायको रक्षा गर्न स्पष्ट दृष्टिकोण र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक पर्ने बताएका छन् । यही सन्दर्भमा उनले महोत्तरी–१ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चुनाव चिन्ह ‘सूर्य छाप’ का उम्मेदवार लक्ष्मी महतो कोइरीलाई पूर्ण समर्थनसहित पार्टी प्रवेश गरेको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा उनले महोत्तरीको समग्र विकास, सामाजिक सद्भाव, आर्थिक सशक्तिकरण र जनताको जीवनस्तर उकास्नका लागि उक्त समर्थन जिम्मेवार र राष्ट्रहितमा आधारित निर्णय भएको उल्लेख गरेका छन् ।

उनले सम्पूर्ण सचेत मतदातालाई लोकतन्त्र सुदृढ गर्न, स्थिरता र समृद्धिको आधार निर्माण गर्न ‘सूर्य छाप’मा मतदान गरी एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरिलाई विजयी गराउन हार्दिक अपिल गरेका छन् । विज्ञप्तिको अन्त्यमा उनले लोकतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण तथा सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सूर्य छापमा मतदान गर्न आग्रह गरेका छन् ।


Published :फाल्गुन १८, २०८२


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media