स्पष्टीकरण हास्यास्पद, निरर्थक र अर्थहीनः पूर्णबहादुर खड्का 

राष्ट्रपाटी न्युज

बैशाख २, २०८३

काठमाडौं । १४ औं महाधिवेशन पक्षका कावा सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सोधेको ७ दिने स्पष्टीकरणलाई “हास्यास्पद, निरर्थक र अर्थहीन” बताएका छन्।
बुधबार बसेको अनुशासन समितिको बैठकले खड्काले पार्टीको लेटरहेड दुरुपयोग गर्दै आफू नभएको जिम्मेवारी दाबी गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
यसबारे प्रतिक्रिया दिँदै खड्काले आफूले सक्कली लेटरहेड नै प्रयोग गरेको दाबी गरे। साथै उनले विशेष महाधिवेशन र त्यसबाट निर्वाचित कार्यसमिति नै अवैधानिक भएको भन्दै आफू सर्वोच्च अदालतमा मुद्दा लिएर गएको स्मरण गराए।
उनले उक्त कार्यसमिति र त्यसअन्तर्गत बनेका संरचनाहरूलाई अवैधानिक ठहर गर्दै त्यही आधारमा भएको निर्वाचनमा सहभागी नहुने निर्णयसमेत गरेको बताए।
खड्काका अनुसार आफूले उठाएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सोही संरचनाबाट बनेको अनुशासन समितिले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नरहेको उनको तर्क छ।
उनले सर्वोच्च अदालतबाट न्याय पाइनेमा विश्वास व्यक्त गर्दै अदालतको अन्तिम निर्णय सबैले स्वीकार गर्नुपर्ने र त्यसकै आधारमा पार्टी अगाडि बढ्ने बताए।
खड्काले कावा सभापतिका नामबाट विज्ञप्ति निकालेपछि अनुशासन आयोगले स्पष्टिकरण लिने निर्णय गरेको थियो ।


Published :बैशाख २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media