दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

राष्ट्रपाटी न्युज

बैशाख २, २०८३

काठमाडौं । सर्वोच्च अदालतले दीपक खड्कालाई हालकै अवस्थामा थुनामै राख्न आदेश दिएको छ।
खड्काकी पत्नी विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले यस्तो आदेश दिएको हो।
अदालतले विपक्षी निकायहरूलाई खड्कालाई पक्राउ गर्नुको कारणसहित लिखित जवाफ पेश गर्न पनि निर्देशन दिएको छ। राजश्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतलाई सम्बन्धित सबै कागजातसहित भोलि वैशाख ३ दिउँसो १२ बजेसम्म जवाफ पेश गर्न भनिएको छ ।
अदालतको आदेशमा रिटमाथिको अन्तिम सुनुवाइ नभएसम्म खड्कालाई “हाल जे अवस्थामा छन्, सोही अवस्थामा राख्न” भनिएको छ।
यसअघि खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो । उनलाई जेनजी आन्दोलनका क्रममा घरमा भेटिएको जलेको रकमबारे अनुसन्धान गर्न नियन्त्रणमा लिइएको गृहमन्त्रीले बताएका थिए।
उक्त घटनापछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी अनुसन्धान गरिरहेको छ।
जेनजी आन्दोलनका क्रममा खड्काको घरमा तोडफोड र आगजनी भएको थियो, जसपछि नेपाली तथा विदेशी मुद्रा जलेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
सर्वोच्च अदालतले अब यस मुद्दाको अर्को पेशी वैशाख ३ गतेका लागि तोकेको छ ।


Published :बैशाख २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media