प्रधानाध्यापक थर्काउने रास्वपा सांसद पोखरेलले मागे माफी

राष्ट्रपाटी न्युज

बैशाख १२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले ओखलढुङ्गास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई गेटमा स्वागत गर्न नआएको भन्दै असन्तुष्टि जनाएर थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सार्वजनिक रूपमा माफी मागेका छन् ।

पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् ।

उनले सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने बताउँदै उक्त घटनामा आफूबाट कमजोरी भएको स्वीकार गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, “यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो । त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचना गर्दछु ।”
पोखरेलले यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्रै काटछाँट गरेर सामाजिक सञ्जालमा भिडियो भाइरल बनाइएको दाबी पनि गरेका छन् ।

उनले आफू जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा आएको उल्लेख गर्दै आगामी दिनमा थप जिम्मेवार र संयमित भएर अघि बढ्ने प्रतिज्ञा गरेका छन् ।


Published :बैशाख १२, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media