एमालेको सदस्यता नवीकरण अभियान जेठ मसान्तसम्म थप

राष्ट्रपाटी न्युज

बैशाख १३, २०८३

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी सदस्यता नवीकरण अभियानको म्याद जेठ मसान्तसम्मका लागि थप गरेको छ।

चैतभित्र सक्नुपर्ने नवीकरण प्रतिनिधिसभा निर्वाचनका कारण पूरा हुन नसकेपछि समय थप गरिएको हो। प्रदेश कमिटीका अध्यक्षहरू सम्मिलित समन्वय/परामर्श बैठकले उक्त निर्णय गरेको भन्दै महासचिव शंकर पोखरेलले कार्यान्वयनका लागि तल्लो तहमा निर्देशन पठाएका छन्।

एमालेमा पार्टी सदस्य र संगठित सदस्य गरी दुई प्रकारका सदस्य हुने व्यवस्था छ। दुवैका लागि अनलाइन फाराम तयार गरिएको छ। “पार्टी सदस्यता नवीकरण र वितरणको कार्यलाई जेठ मसान्तसम्म कायम गरी अनलाइन प्रविधिबाट तथा आवश्यकताअनुसार भौतिक उपस्थितिमा प्रक्रिया अगाडि बढाइने,” निर्णयमा उल्लेख गरिएको छ।

यस्तै, पार्टीले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत परिणाम नआएको विषयमा आन्तरिक समीक्षा गर्दै सदस्यता वितरणमा कडाइ गर्ने निर्णय पनि गरेको छ। बैठकमा नेताहरूको भूमिकाबारे छलफल भएको जनाइएको छ।

निर्देशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिनु अनुशासनविपरीत भएको ठहर गर्दै त्यस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। पार्टीभित्रका विचारहरू औपचारिक कमिटीमै राख्न पनि निर्देशन दिइएको छ।

त्यसैगरी, जहाँ पार्टी सदस्यभन्दा कम मत आएको छ, त्यस्ता क्षेत्र, पालिका र वडामा सदस्यता वितरणका मापदण्ड कडाइका साथ लागू गरिने बताइएको छ। आवश्यकताअनुसार सदस्यता नवीकरण सहजीकरण टोली गठन गरी परिचालन गरिने पनि निर्णयमा उल्लेख छ।


Published :बैशाख १३, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media