
काठमाडौं । सरकारले व्यवसायी शेखर गोल्छालाई रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्न अस्वीकार गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई रिहा गरिदिएको हो ।
गोल्छालाई मंगलबार अपराह्न श्रीमती सीमा पन्त गोल्छाको जिम्मा लगाएको सिआइबीले जानकारी दिएको छ । सिआइबीका अनुसार आवश्यक पर्दा उपस्थित हुने शर्तमा गोल्छालाई रिहा गरिएको हो । काठमाडौं जिल्ला अदालतले बीमासम्बन्धी कसुरमा गोल्छालाई थप थुनामा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्वीकार गरेको थियो ।
गोल्छा सर्वोच्चको परमादेशअनुसार धितोपत्रसम्बन्धी कसुरमा पाँच लाख धरौटी बुझाएर रिहा भएलगत्तै सोमबार बीमासम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको थियो । तर, जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेसँगै उनी रिहा भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई हिरासतमा राख्ने प्रक्रियामा गम्भीर त्रुटि औंल्याउँदै परमादेश जारी गरेको थियो ।
परमादेशसँगै उनलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको थियो । गोल्छालाई धरौटी वा जमानत तिर्न नसकेमात्र थुनामा राख्नुपर्ने भन्दै सर्वोच्चले हिरासतमा राख्ने गरी आदेश दिएको थियो । गत वैशाख १० गते सिआइबीले गोल्छालाई धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् । निजी क्षेत्रले व्यवसायी धरपकडप्रति आपत्ति जनाउँदै आएको छ ।