
काठमाडाैं । आईसीसी विश्वकप लिग–२ सिरिजअघिको अभ्यास खेलमा नेपाल ए टोलीले स्कटल्यान्डलाई ४५ रनले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ।
मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा २७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० बल बाँकी रहँदा २३२ रनमा अलआउट भयो। स्कटल्यान्डका लागि फिनाली म्याकक्रेथले ५२ रन, ज्याक जार्भिसले ४५ रन र मार्क वाटले ३७ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।
नेपाल ए का बलरमध्ये रसिद खानले ३ विकेट लिए भने साहब आलम, युवराज खत्री र बसिर अहमदले २/२ विकेट तथा कुशल मल्लले १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ५० ओभरमा ८ विकेट गुमाउँदै २७७ रन बनाएको थियो। देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए भने मयान यादवले ४५, सन्दीप जोराले ३४, पवन शर्राफले ३१ र दीपक डुम्रेले २३ रन जोडे।
यो अभ्यास खेल आईसीसी विश्वकप लिग–२ अन्तर्गत हुने सिरिजअघि भएको हो। स्कटल्यान्डको टोली नेपाल भ्रमणमा रहेको छ र आगामी खेलहरूमा नेपाल तथा अमेरिका विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
नेपालकाे टोली र स्कटल्यान्डकाे टोली बीचको यस खेलले लिग–२ सिरिजअघि दुवै टोलीलाई तयारीको राम्रो अवसर दिएको छ।