लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

राष्ट्रपाटी न्युज

बैशाख २८, २०८३

लिस्बन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सञ्चारमाध्यम बलियो भए मात्रै लोकतन्त्र बलियो हुने बताएकी छन्।
शनिबार नेपाल पत्रकार महासङ्घ युरोप शाखाले पोर्चुगलको राजधानी लिस्बनमा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले मिडियाको सबल उपस्थितिले नै लोकतन्त्रलाई मजबुत बनाउने धारणा व्यक्त गरेकी हुन्।
अध्यक्ष शर्माले प्रेस पूर्ण रूपमा स्वतन्त्र हुनुपर्नेमा जोड दिँदै सरकारले मिडियामाथि कुनै पनि बहानामा अङ्कुश लगाउन नहुने बताएकी छन्। वर्तमान समयमा कृत्रिम बुद्धिमत्ता ९एआई० को बढ्दो प्रभावका कारण पत्रकारिता क्षेत्रमा नयाँ चुनौतीहरू थपिएको उनले उल्लेख गरिन्। विशेषगरी सामाजिक सञ्जालमार्फत ‘कन्टेन्ट’का नाममा भ्रम फैलाउने प्रवृत्ति बढ्दै गएको र यसले वास्तविक पत्रकारितामा नकारात्मक असर पारेको उनको विश्लेषण छ।
सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुभन्दा पनि नियमन गर्नुपर्ने आवश्यकता औँल्याउँदै शर्माले सूचना तथा समाचारको सत्यतथ्य परीक्षण गरेर मात्रै सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेकी छन्। पत्रकार र सञ्चारमाध्यम पनि समाजप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। युरोपमा क्रियाशील नेपाली पत्रकारहरूलाई सम्बोधन गर्दै उनले प्रवासी नेपाली समुदायका गतिविधि, उनीहरूका समस्या र अन्य जानकारीमूलक विषयमा समाचार प्रवाह गरी समाजमा योगदान पुर्‍याउन समेत आग्रह गरिन्।
कार्यक्रममा सहभागी पत्रकारहरूले युरोपमा नेपाली पत्रकारिताको वर्तमान अवस्था, भोग्नुपरेका चुनौती र उपलब्ध अवसरका बारेमा आ(आफ्ना अनुभव सुनाएका थिए। उनीहरूले प्रवासमा गरिने पत्रकारितालाई थप प्रभावकारी र मर्यादित बनाउन महासङ्घको केन्द्र र शाखाबीच बलियो समन्वय र संस्थागत सहकार्य हुनुपर्नेमा जोड दिएका छन्। (रासस)


Published :बैशाख २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media