प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल हुने

राष्ट्रपाटी न्युज

बैशाख ३१, २०८३

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा मिति २०८३ वैशाख २८ गते सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

सदनको मिति २०८३ वैशाख ३० गते बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

यता प्रतिपक्षी दलले प्रधानमन्त्री वालेन्द्र शाह बैठकमा उपस्थित भएर नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने अडान लिएका छन् । बैठकमा प्रधानमन्त्री उपस्थित हुने वा कुनै मन्त्रीलाई जवाफ दिन पठाउने भन्ने टुंगो लागिसकेको छैन । बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जवाफी दिन पठाउँदा विपक्षी दलले प्रधानमन्त्री स्वयम् उपस्थित हुनुपर्ने भन्दै अवरोध गरेका थिए ।


Published :बैशाख ३१, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media