सर्लाहीमा इँटाले पुरिएर तीन मजदुरको मृत्यु, दुई घाइते

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०८३

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ । उक्त घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरूमा गोडैता नगरपालिका–७ का ५० वर्षीय फिताई मन्सुर, गोडैता–९ का ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुरका ३५ वर्षीय अंगद कुमार छन्।

प्रहरीले शुक्रबार साँझ उद्धार गरी घाइतेहरूलाई प्रादेशिक अस्पताल मलंगवामा पठाएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार शुक्रबार साँझ करिब ६ बजे कौडेना बजार निवासी बिरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा पर्खाल खसेर मजदुरहरू पुरिएका थिए ।

मलंगवा नगरपालिका–७ निवासी ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् ।

तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Published :जेष्ठ २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media