सहकारी ठगीमा रास्वपा नेता रेग्मीसहित २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रपाटी न्युज

जेष्ठ २, २०८३

पोखरा । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका अर्का नेता बोधराज रेग्मी जोडिएका छन् ।

कास्की प्रहरीले रास्वपा नेता रेग्मीसहित २६ जनाविरुद्ध जिल्ला अदालतमार्फत् पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएसँगै रास्वपा स्याङ्जाका नेता रेग्मी फरार भएका छन् । उक्त सहकारीबाट ऋण लिएर लामो समयसम्म नतिर्ने र पटक–पटक ताकेता गर्दा पनि अटेर गर्नेहरूमाथि प्रहरीले अनुसन्धान बढाएको छ। कास्की प्रहरीका एक अधिकृतले पुर्जी जारी भएको पुष्टि गरेका छन् ।

फरार बोधराज रास्वपाबाट स्याङ्जा क्षेत्र नम्बर १ मा विजयी प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव हुन् । उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

रेग्मी रास्वपाका एक युवासँगै ०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ बाट उम्मेदवार पनि हुन् । उनी स्याङ्जाको पुतलीबजार नगरपालिका-५, नयाँबजारका बासिन्दा हुन् ।

यसअघि २०८० मंसिरमै उक्त सहकारी सञ्चालकहरूविरुद्ध कारबाही अघि बढेको थियो । सहकारीको रकम हिनामिना आरोपमा त्यसबेला पक्राउ पुर्जी जारी हुनेमा वडाध्यक्ष, वकिलदेखि पत्रकारसम्म थिए ।

संस्थाका अध्यक्ष रमण पौडेल र कार्यकारी प्रमुख किरण अधिकारी पहिले नै समातिएका थिए । बचतकर्ताको रकम फिर्ता नदिएपछि पीडितहरूले उजुरी दिएका थिए । सहकारी रजिस्ट्रारको कार्यालय पोखराका अनुसार सहकारीको वित्तीय विवरणमा कैफियत देखिएको र २६ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरेको निकालेको थियो ।


Published :जेष्ठ २, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media