
सुर्खेत । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले कांग्रेस पार्टी विभाजनको संघारमा पुगेको बताएका छन् ।
विशेष महाधिवेशनको नेतृत्वविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालत मा पुगेका खड्काले अदालतको फैसलापछि पनि पार्टीको बृहत् एकताका लागि सबै प्रदेशमा भेला आयोजना गरी कार्यकर्ताको सुझाव संकलन गरेर अघि बढ्ने बताए ।
गृहजिल्ला सुर्खेतमा आयोजित भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनकै कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद हार व्यहोर्नुपरेको दाबी गरे ।
हारपछि पनि पार्टी नेतृत्व एकताको पक्षमा गम्भीर नभएको आरोप लगाउँदै खड्काले नेतृत्व नै विभाजनतर्फ उन्मुख भएको टिप्पणी गरे । उनका अनुसार नेतृत्वले एकताको वातावरण बनाउनुको सट्टा समूहगत राजनीति र विभाजनलाई प्रश्रय दिएको छ।
उनले विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्ने प्रयास भइरहेको आरोप समेत लगाए। क्रियाशील सदस्यता अद्यावधिकको नाममा पुराना सदस्य तथा कार्यकर्तालाई पार्टीबाट बाहिर धकेल्ने काम भइरहेको उनको भनाइ थियो।
डिजिटलाइजेसन र आधुनिकताको नाममा लामो समयदेखि पार्टीमा योगदान दिएका नेता तथा कार्यकर्तालाई अपमानजनक व्यवहार गरिएको भन्दै उनले असन्तुष्टि जनाए ।
खड्काले पार्टी अप्ठ्यारो अवस्थामा पुगेकाले सबै तहका नेता–कार्यकर्ताको सुझाव लिन देशभर प्रदेशस्तरीय भेला आयोजना गरिएको जानकारी दिए। तल्लो तहबाट प्राप्त सुझावका आधारमा आफ्नो समूहले आगामी रणनीति तय गर्ने उनको भनाइ थियो।
आफूले पार्टीमा रहेर पाउनुपर्ने सबै अवसर र जिम्मेवारी प्राप्त गरिसकेको उल्लेख गर्दै अब बाँकी पुस्ताको राजनीतिक भविष्यका लागि संघर्ष गर्ने उनले बताए।
नेपाली कांग्रेस कर्णाली प्रदेश समिति ले आयोजना गरेको ‘विचार गोष्ठी’ नाम दिइएको भेलामा देउवा समूह निकट नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
संस्थापन पक्षले भने उक्त भेलालाई अघोषित बहिष्कार गरेको जनाइएको छ। कार्यक्रममा देउवा समूह निकट प्रतिनिधिसभा सदस्य, कर्णाली प्रदेशसभा सदस्य तथा निवर्तमान केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो।
निवर्तमान कार्यवाहक सभापतिसमेत रहेका खड्काले नै कार्यक्रमको उद्घाटन गरेका थिए ।