मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित

राष्ट्रपाटी न्युज

जेष्ठ ६, २०८३

काठमाडौं । एसियन गेम्स तयारीका लागि खेलिरहेको खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई २ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटङ गरेको मलेसिया १६.५ ओभरमा ६७ रन बनाउँदै अलआउट भएको थियो ।

मलेसियाले दिएको ६८ रनको लक्ष्य पछयाएको नेपालले १७.३ ओभरमा ८ विकेट गुमाउँदै ७१ रनसहित लक्ष्य पूरा गरेको हो । नेपालका लागि ब्याटिङतर्फ सम्झना खड्काले सर्वाधिक ३२ रनको पारी खेलिन् । विन्दु रावल र पुजा महतो डकआउट हुँदा रुबी पोदारले १५ रन बनाइन् । त्यसपछिका ४ ब्याटर सस्तैमा पेभेलिन फर्किए । कविता जोशी र रिया शर्मा क्रमशः ६ र ४ रनमा अविजित रहे ।

मलेसियाका लागि नुर क्वाल्सा नोरिफेन्दीले सर्वाधिक ३ विकेट लिइन् । एल्सा फिर्दुज र एल्सा हन्टरले २–२ विकेट लिए । नुर दानिया सुहादाले १ विकेट लिइन् । त्यसअघि, ब्याटिङ गरेको मलेसियाको लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि बलिङतर्फ पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । मनिषा उपाध्याय र रिया शर्माले समान २–२ विकेट लिए । कविता कुँवर र सीता राना मगरले १–१ विकेट लिए ।


Published :जेष्ठ ६, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media