क्रिकेट लिग २: अमेरिकाविरुद्ध नेपालको शानदार जित

राष्ट्रपाटी न्युज

जेष्ठ ८, २०८३

काठमाडौं । आइसीसी क्रिकेट लिग २ मा अमेरिकाविरुद्ध नेपालले शानदार जित निकालेको छ । नेपालले अमेरिकालाई १२२ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको हो । आइसीसी लिग २ अन्तर्गत टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले ठूलो रन अन्तरले विजय हासिल ग-यो ।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा १९५ रनमात्र बनाउन सक्यो। अमेरिकाका लागि संजय कृष्णमूर्तिले सर्वाधिक ५६ रन बनाए। त्यस्तै सयान जहंगीरले २७, सेहन जयसूर्यले २६ र सैतेजा मुक्कामालाले १२ रन बनाए।
त्यसअघि कप्तान रोहित पौडेल र इशान पाण्डेको शतकीय साझेदारीमा नेपालले अमेरिकालाई ३१८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको थियो।
नेपालको लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए। उनले ८३ बलमा ८ चौका र १ छक्का प्रहार गरे। उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी बनाएका थिए।
आसिफले पहिलो विकेटको लागि ओपनर कुशल भुर्तेलसँग ६९ रनको साझेदारी बनाउँदै राम्रो सुरुवात गरेका थिए। कुशल भुर्तेलले ३९ बलमा २९ रन बनाउँदै क्याच भए। आसिफ शेखले ४३ रन बनाए। कप्तान रोहित पौडेलले ४६ रन बनाउँदै एलबीडब्ल्यू आउट भएका हुन्। गुल्सन झा १५ रनमा क्याच भए। दिपेन्द्र सिंह ऐरी ५९ रनमा रनआउट भए।
उनले ३८ रनमा साइतेजा मुक्कामल्लाबाट क्याच ड्रपको रुपमा जिवनदान पाएका थिए। सोमपाल कामी छ र नन्दन यादव १ रनमा रनआउट भए । आरिफ शेख १८ रनमा अविजित भए।


Published :जेष्ठ ८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media