
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले आफू प्रधानमन्त्री भएपछि नेपालले भारतको जमिन मिचेको थाहा पाएको अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि कांग्रेस नेता भण्डारीले त्यसको आधार,स्रोत र प्रमाणबारे स्पष्ट पार्न माग गरेका हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भण्डारीले सरकारसँग नेपालले भारतको सीमा मिचेको पुष्टि गर्ने कुनै आधिकारिक तथ्य,नक्सा,सन्धि वा दस्तावेज भए सार्वजनिक गर्न आग्रह गरेका छन्। प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्, ‘नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार,स्रोत वा प्रमाण के हो ? यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य,नक्सा, सन्धि वा दस्तावेज छ भने सार्वजनिक गर्न आग्रह गर्दछु।’
उनले नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्ने र कसैको भूमि नमिचेको उल्लेख गर्दै सीमा सम्बन्धी विषयमा राष्ट्रिय धारणा स्पष्ट हुनुपर्ने बताएका छन्। साथै सीमा व्यवस्थापनका लागि दीर्घकालीन राष्ट्रिय नीति, प्रभावकारी कूटनीति र ठोस पहल आवश्यक रहेको उनको भनाइ छ।
भण्डारीले लेखेका छन्,’नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्दछ र कसैको भूमि मिचेको छैन। बरु नेपालले आफ्नो भूमि र राष्ट्रिय सीमाको पर्याप्त संरक्षण तथा व्यवस्थापन आवश्यक छ। त्यसैले सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति,प्रभावकारी कूटनीति र ठोस पहल गर्नु पर्दछ। साथै सबै नेपालीको धारणा एउटै हुनु पर्दछ।’