
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहलाई पदमा बसिरहने नैतिक अधिकार नरहेको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रावलले नेपालको भौगोलिक अखण्डताको रक्षा गर्नुपर्ने जिम्मेवारीमा रहेका प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनु अत्यन्त आपत्तिजनक भएको बताए।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले “प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ” भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावलले प्रधानमन्त्रीले संसद्मा झुटो र राष्ट्रहितविपरीत अभिव्यक्ति दिएको आरोप लगाए ।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको भूभाग अरू देशलाई सुम्पने प्रकारको सन्देश जाने दाबी गर्दै यस्तो धारणा राख्ने व्यक्ति प्रधानमन्त्री पदमा रहनु देशका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
रावलले नेपालले भारतको भूमि कहाँ, कति र कहिलेदेखि मिचेको हो भन्ने विषयमा प्रधानमन्त्रीले तत्काल स्पष्ट जानकारी दिनुपर्ने माग गरे ।
उनले स्वाधीन, स्वाभिमानी र अखण्ड नेपालको पक्षमा रहेका नेपाली जनताले प्रधानमन्त्रीसँग यसबारे स्पष्ट जवाफ माग्नुपर्ने बताउँदै सरकारको नेतृत्व गरिरहेको दल र त्यसका सांसदहरूको धारणा पनि सार्वजनिक हुनुपर्ने उल्लेख गरेका छन् ।