भारतीय प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीचको भेटवार्तामा के-के भयो छलफल ?

राष्ट्रपाटी न्युज

जेष्ठ २०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, साझा हित र भविष्यको सहकार्यका विषयमा छलफल भएको बताइएको छ।

भेटपछि प्रधानमन्त्री मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्य निर्माणका लागि भारत नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन्।

लामिछानेसँगको भेटलाई सकारात्मक र फलदायी रहेको उल्लेख गर्दै उनले नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका हुन्।

मोदीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु।”

उनले भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गत नेपाललाई प्राथमिक साझेदार राष्ट्रका रूपमा लिइएको उल्लेख गरेका छन्।

“दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,” मोदीले उल्लेख गरेका छन्।

भारत भ्रमणमा रहेका लामिछानेले यसअघि भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए। सोमबार भारत पुगेका उनलाई भारतीय जनता पार्टी (भाजपा)को कार्यालयमा स्वागत गरिएको थियो।

भाजपाको निमन्त्रणामा पाँचदिने भारत भ्रमणमा रहेका लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपीनकुमार आचार्य, सांसद दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन्।


Published :जेष्ठ २०, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media