
काठमाडौं । विशेष अदालतले नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साधारण तारेखमा छाड्न आदेश दिएको छ।
शुक्रबार भएको थुनछेक बहसपछि विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामा नराखी साधारण तारेखमा मुद्दाको प्रक्रिया अघि बढाउने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलगायतको गैरकानुनी सम्पत्ति लुकाउन तथा वैध देखाउन सहयोग गरेको आरोपमा पौडेललाई मतियारको रूपमा प्रतिवादी बनाउँदै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनी गरी १६ प्रतिवादी छन् ।
विभागले पौडेलविरुद्ध करिब २० करोड ९० लाख रुपैयाँ बिगो कायम गरी उहाँको बैंक खातामा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ जफत गर्नसमेत अदालतसँग मागदाबी गरेको छ।
विशेष अदालतको आदेशसँगै पौडेलले अब थुनाबाहिर रहेर साधारण तारेखमा उपस्थित हुँदै मुद्दाको कानुनी प्रक्रिया सामना गर्नेछन् ।