
काठमाडौं । सातवटा साना राजनीतिक दलले आगामी साउन २३ गते ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् । सोमबार भएको छलफलपछि ती दल मोर्चा घोषणाको तयारीमा जुटेका हुन् ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार साउन २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा कार्यक्रम आयोजना गरी मोर्चा घोषणा गरिनेछ । मोर्चा घोषणाका लागि सम्बन्धित दलका शीर्ष नेताबीच सहमति भइसकेको उनले जानकारी दिए ।
मोर्चामा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी हुने जनाइएको छ ।
साना दलहरूबीच सहकार्य र साझा राजनीतिक एजेन्डाका आधारमा अघि बढ्ने उद्देश्यले मोर्चा गठन गर्न लागिएको हो । शीर्ष नेताहरूबीच भएको छलफलपछि मोर्चा घोषणाको मिति र स्थान तय गरिएको अध्यक्ष राउतले बताए ।