
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ । अदालतले प्रसाईंविरुद्ध म्याद थप नगरी छाड्न आदेश दिएको हो ।
आइतबार राति पक्राउ परेका प्रसाईंलाई प्रहरीले साइबर अपराध तथा राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार र सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्न म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत प्रसाईंलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । तर अदालतले म्याद थप गर्न अस्वीकार गर्दै रिहा गर्न आदेश दिएको हो ।
अदालतको आदेशपछि प्रहरीले प्रसाईंको रिहाइ प्रक्रिया अघि बढाएको जनाएको छ ।