तराई घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न कांग्रेसको माग

राष्ट्रपाटी न्युज

साउन १८, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुनसरीलगायत पूर्वी तराईका जिल्लामा भएका घटनाको निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन गर्न माग गरेको छ ।

सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिबाट सत्यतथ्य बाहिर आउन नसक्ने निष्कर्ष निकाल्दै उच्चस्तरीय न्यायिक समिति गठन गर्न सरकारसँग माग गरेको हो ।

बैठकपछि कांग्रेस महामन्त्री प्रदीप पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै सुनसरीमा दुई समुदायबीच भएको झडप तथा सुनसरी र सिरहामा गरी तीन जनाको मृत्यु भएको घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए ।

उनले गृह मन्त्रालयले गठन गरेको समितिलाई ‘कर्मकाण्डी’ भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनबमोजिम कारबाही सुनिश्चित गर्न स्वतन्त्र, निष्पक्ष र न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताए ।

कांग्रेसले घटनाको विषयलाई प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा सशक्त रूपमा उठाउने तथा न्यायिक छानबिन समिति गठनका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । यसका लागि अन्य विपक्षी दलसँग समेत सहकार्य र समन्वय गर्ने महामन्त्री पौडेलले जानकारी दिए ।

बैठकले नागरिकका मुद्दा र आवाजलाई संसदमा प्रभावकारी रूपमा उठाउन कांग्रेसका सांसदलाई जिल्लागत जिम्मेवारी तोक्ने निर्णयसमेत गरेको छ ।

कांग्रेसको प्रतिनिधित्व नभएका जिल्लामा समेत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई खटाएर नागरिकसँग प्रत्यक्ष संवाद तथा समन्वय गर्ने संयन्त्र तयार पारिएको पौडेलले बताए ।

यसैगरी, सांसदका स्वकीय सचिव नियुक्तिका लागि निश्चित मापदण्ड तयार गरी सोही आधारमा नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ ।

सांसदहरूको क्षमता तथा कार्यक्षमता अभिवृद्धि गरी संसदीय भूमिकालाई थप प्रभावकारी बनाउन कांग्रेसले आयोजना गर्ने एकदिने अभिमुखीकरण तथा संवाद कार्यक्रममा संसदीय दलको सहभागिता रहने निर्णयसमेत बैठकले अनुमोदन गरेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, नागरिकका समस्या तथा संसदमा पार्टीको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको कांग्रेसले जनाएको छ।


Published :साउन १८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media