देउवा आज स्वदेश फर्किँदै, बाजागाजासहित स्वागतको तयारी

राष्ट्रपाटी न्युज

साउन २८, २०८३

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरले पूर्वसभापति शेरबहादुर देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ ।

झण्डै ६ महिनापछि आज स्वदेश फर्किन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो ।

देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर पुगेका थिए । त्यसपछि चैत ७ मा उनी सिंगापुरबाट हङकङ पुगेर त्यहीँ बसेका थिए

इतर समूहले साउन २९ गते राष्ट्रिय भेलाका लागि गठन गरेको सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाले देउवाको स्वागतका लागि बाजागाजासहित सांस्कृतिक झाँकी निकालिने जानकारी दिइन् ।

कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुग्नेछन् । उनी थाई एयरको उडानमार्फत स्वदेश फर्किन लागेका हुन् ।

जेन-जी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा घाइते भएका देउवा उपचारका लागि गत फागुन १३ गते राति सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि उनी चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका थिए ।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुनेछन् ।

इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार राष्ट्रिय भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुनेछ । तीन दिनसम्म चल्ने भनिएको भेलामा करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने इतर समूहले जनाएको छ।

देउवाको स्वदेश फिर्ती र इतर समूहको राष्ट्रिय भेलालाई कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद, नेतृत्व र पार्टी पुनर्गठनका विषयमा छलफल हुने महत्त्वपूर्ण अवसर मानिएको छ ।


Published :साउन २८, २०८३


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media