Close Menu
    आजका समाचार

    पर्यटक आगमनमा वृद्धि

    मंसिर ७ २०८३, सोमवार

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार
    Facebook X (Twitter) Instagram
    ब्रेकिङ न्यूज
    • पर्यटक आगमनमा वृद्धि
    • आजदेखि गण्डकी परिक्रमा महोत्सव
    • माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति
    • प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै
    • पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै
    • काभ्रेमा आजदेखि नमोबुद्ध जात्रा
    Facebook X (Twitter) Instagram
    राष्ट्रपाटीराष्ट्रपाटी
    Demo
    • होमपेज
    • राजनीति
    • अर्थ
    • विचार
    • कला/मनोरन्जन
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • समाचार
      • प्रदेश समाचार
      • जिल्ला समाचार
      • स्थानीय समाचार
    • बुढानिलकण्ठ
    • शिक्षा
    राष्ट्रपाटीराष्ट्रपाटी
    Home»बिशेष»अपी हिमालः जहाँ प्रकृति बोल्छ
    बिशेष मंसिर ७ २०८३, सोमवार

    अपी हिमालः जहाँ प्रकृति बोल्छ

    Manoj KhatiwadaBy Manoj Khatiwadaमंसिर ७ २०८३, सोमवारUpdated:मंसिर ७ २०८३, सोमवारNo Comments0 Views
    Clock मंसिर ७ २०८३, सोमवार

    बझाङ । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको एउटा सुन्दर टुक्राजस्तै बनाएको छ । अपी, नाम्पा, कापुचुली र बबई हिमालले घेरिएको यो भूगोलले आगन्तुकलाई प्रकृतिको मौन सङ्गीत सुनाउँछ ।

    समुद्री सतहबाट सात हजार १३२ मिटर उचाइमा रहेको सुदूरपश्चिमकै अग्लो चुचुरो अपी हिमाल यस क्षेत्रको मुख्य आकर्षण हो । तीन हजार ९०० मिटर उचाइमा अवस्थित आधार शिविर क्षेत्रबाट हिमशृङ्खलाको भव्य स्वरूप नजिकैबाट नियाल्न सकिन्छ । विशाल पाटन, निलो ताल, हिमनदीबाट निसृत जलधारा र दुर्लभ वनस्पतिले यस क्षेत्रको सुन्दरता थपेका छन् ।

    यहाँ पुग्नु आफैँमा रोमाञ्चक यात्रा हो । मार्मा गाउँपालिका हुँदै मकरीगाडसम्म जीपमा पुगेपछि करिब दुई दिनको पदयात्रा गर्नुपर्छ । कठिन उकालो, भिरालो गोरेटो र नदी किनार हुँदै अघि बढ्दा यात्रीले हिमाली भूगोलका विविध रूप देख्न पाउँछन् । लामो बाटो पार गरेर आधार शिविर पुग्दा यात्राको थकान हिमालको मनमोहक दृश्यमा हराउँछ ।

    कालीढुङ्गा, बयेली ताल, धर्मी तथा मार्कण्डेय गुफा, चमेलिया नदीको उद्गमस्थल र फराकिला पाटन यस क्षेत्रका प्रमुख आकर्षण हुन् । प्राकृतिक सम्पदासँगै धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वका स्थलले पर्यटकीय सम्भावना अझ बढाएका छन् ।

    गर्मीयाममा रङ्गीचङ्गी फूलले ढाकिने पाटन पर्यटकका लागि मात्र होइन, स्थानीयको जीविकोपार्जनका लागि महत्वपूर्ण छ । यहाँ यार्सागुम्बा, पाँचऔँले, पदमचाल, हत्वाजडी, बायुजडी, जटामसीलगायत बहुमूल्य जडीबुटी सङ्कलन गरिन्छ । भेडा, च्याङ्ग्रा र चौँरी चराउने परम्परागत थलोका रूपमा यो क्षेत्र परिचित छ ।

    अपी हिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा यस क्षेत्रलाई आधुनिक पर्यटन अर्थतन्त्रको बलियो आधार बनाउने योजनामा छन् । पर्यटकीय गतिविधि बढाउन सके स्थानीयस्तरमै रोजगारी र आम्दानीका अवसर सिर्जना हुने उनको विश्वास छ ।

    सामुदायिक घरबास (होमस्टे), स्थानीय यातायात, पदयात्रा गाइड, भरिया, होटल तथा खाद्य सेवामा स्थानीयको सहभागिता बढाउने तयारी गरिएको उनले बताए । यसका लागि आवश्यक जनशक्तिलाई पटक–पटक तालिम दिइएको छ । “हामीले पालिकाका धेरै जनालाई पर्यटन अर्थतन्त्र विस्तारमा स्थानीयको भूमिकाबारे विभिन्न क्षेत्रका जनशक्तिलाई तालिम दिएर तयार पारिसकेका छौँ,” अध्यक्ष बोहराले भने ।

    चालु आर्थिक वर्षमा आधार शिविर क्षेत्रमा १० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य छ । “अहिलेको तयारीअनुसार अपेक्षित सङ्ख्यामा पर्यटक आउँछन् भन्ने विश्वास छ,” उनले भने ।

    बोहराका अनुसार अहिले मुख्य समस्या सञ्चार ‘नेटवर्क’ र ‘इन्टरनेट’को हो । अन्य पूर्वाधार तयार भइसकेको उनको दाबी छ । “यहाँका मानिसको मौलिकपन नै ठूलो सम्पत्ति हो । आउने पर्यटकले कुनै समस्या भोग्नुपर्दैन । अहिलेलाई पुग्ने आवश्यक काम गरिसकेका छौँ । थप आवश्यकताअनुसार पूर्वाधार थपिन्छ,” उनले भने ।

    अपी हिमालको पहिचान प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन । यहाँको वेशभूषा, रीतिरिवाज, लोकबाजा, देउडा र परम्परागत ज्ञान उत्तिकै महत्वपूर्ण छन् । गैरा इको रिसोर्ट, घुसाका सञ्चालक महादेव धामी स्थानीय संस्कृति जोगाउँदै पर्यटकलाई आतिथ्य प्रदान गर्न आफूहरू सक्रिय रहेको बताउँछन् । गाउँपालिकाबाट प्राप्त तालिमपछि पाहुनाको खानपान, आवास र स्वागत सत्कारमा थप सहज भएको उनको भनाइ छ ।

    गाउँपालिकाले मकरीगाडदेखि आधार शिविरसम्मका विभिन्न स्थानमा होमस्टे सञ्चालनको व्यवस्था मिलाएको छ । धनबोरा, घुसा, नाली, लामामाडौँ, आरूखोर, सिती, खायाकोट, छिरछिरे, सिमार, भल्याखोला र धौलीओडारमा पर्यटकका लागि आवास सुविधा उपलब्ध छ । त्यसपछि आधार शिविर क्षेत्रमा पुग्ने पाहुनालाई दैनिक ७० जनालाई पुग्ने स्थायी होटल तथा ठूला टेन्ट व्यवस्थित गरिएको छ । व्यक्तिगत रूपमा टेन्ट बोकेर जानेलाई पनि असहज हुँदैन ।

    मकरीगाडबाट आधार शिविरसम्म ३४ किलोमिटरको दूरी भए पनि तीनदेखि पाँच किलोमिटरको अन्तरमा बनाइएका होमेस्टेले यात्रीलाई अझ सहज बनाएको छ । स्थानीय मौलिकता र आत्मीय व्यवहार यहाँको आतिथ्यका विशेषता नै हुन् । हरेक होमेस्टेमा फूलमालाले स्वागत गर्ने, सांस्कृतिक पहिचान झल्किने नाच देखाउने र स्थानीय परिकार खुवाउने परम्पराले पाहुनालाई आकर्षित गर्छ ।

    दोलखाको बिगु गाउँपालिकाकी उपाध्यक्ष देवकी थामीले यहाँको आतिथ्य सत्कारको प्रशंसा गर्नुभयो । “सुरूमै फूलमालाले स्वागत गरिन्छ । सांस्कृतिक पहिचान झल्किने गरी स्थानीय नाच प्रस्तुत हुन्छ । बास र खानपिनमा तारे होटलको कमी महसुस हुँदैन । त्योभन्दा मीठो यहाँका मानिसको बोली, व्यवहार हो । यही सम्पत्तिले पर्यटकलाई अपिहिमाल नजिक्याउँछ,” उनले भने । पर्यटनलाई संस्कृति संरक्षणसँग जोड्न सके मौलिक पहिचान नयाँ पुस्तासम्म पु¥याउन सकिने थामीको विश्वास छ ।
    गाउँपालिकाको पर्यटन विभाग हेर्ने बिसन बुढाथोकीका अनुसार गाउँपालिकाले आधार शिविरसम्म भरपर्दाे सञ्चार सेवा विस्तार, प्राथमिक उपचार सामग्रीको व्यवस्था, तालिमप्राप्त जनशक्ति परिचालन र आपतकालीन उद्धार प्रणाली विकासको काम गरिरहेको छ ।
    अपिहिमाल धार्मिक आस्थाको केन्द्र पनि हो । यहाँको फेदबाट उदाउने चमेलिया नदीलाई भगवान शिवको शिरबाट प्रवाहित गङ्गाको स्वरूप मान्ने जनविश्वास छ । खायाकोटका झलकसिंह लोथ्यालका अनुसार क्षेत्ती र घाजिरमा सुर्मा भवानीप्रतिको श्रद्धा, सुर्मा सरोवरको तीर्थ परम्परा तथा मार्कण्डेय र धर्मी गुफाले यस क्षेत्रको धार्मिक पहिचानलाई समृद्ध बनाएका छन् । शिरमा शिव भएकै कारण स्थानीय मन्दिरमा पनि आध्यात्मिक महत्व थपेको उनको बुझाई छ । अपिहिमाल प्रकृतिको उपहार मात्र होइन, आस्थाको प्रतीक भएको उनले बताए ।

    हिमालको काखमा जलवायु सङ्कट

    अपिहिमालको सौन्दर्यसँगै यसको भविष्यप्रति चिन्ता पनि बढ्दै गएको छ । जलवायु परिवर्तनका कारण हिउँ पग्लिने क्रम तीव्र बनेको छ । पानीका मुहान सुक्न थालेका छन् । वर्षा चक्रमा आएको फेरबदलले परम्परागत जीविकोपार्जन प्रभावित हुन थालेको छ ।
    एकातिर यस क्षेत्रलाई विश्व पर्यटनको नक्सामा स्थापित गर्ने अवसर छ । अर्कोतिर जलवायु परिवर्तनले हिमाली पारिस्थितिक प्रणाली र स्थानीय जीवनमा जोखिम थपिरहेको छ । यही चुनौतीलाई ध्यानमा राख्दै गाउँपालिकाले पर्यटन प्रवद्र्धनसँगै वातावरण संरक्षणको अभियान अघि बढाएको छ ।
    नेपाल हिमालय विश्वको तेस्रो ध्रुव (थर्ड पोल) का रूपमा चिनिन्छ । यहाँका हिमनदी, हिमताल, नदी, वन, घाँसेमैदान र सिमसारले दक्षिण एसियाका करोडौँ मानिसको जीवनलाई आधार दिएका छन् । तर विश्वव्यापी तापक्रम वृद्धिले हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् । हिमताल विस्फोटको जोखिम बढेको छ । पानीका मुहान सुक्ने, कृषि प्रणाली प्रभावित हुने र जैविक विविधता घट्ने समस्या देखिन थालेका छन् ।
    त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक वातावरणविद् डा. रमेशराज पन्तका अनुसार जलवायु परिवर्तनको प्रभाव अपिहिमालजस्ता उच्च हिमाली क्षेत्रमा देखिन थालेको छ । वर्षाको समय र स्वरूपमा परिवर्तन, अनियमित हिमपात तथा पानीका स्रोत सुक्ने समस्याले स्थानीय जीवनशैली प्रभावित भएको उनी बताउँछन् ।
    यसको असर हिमालको हिउँमा मात्र सीमित छैन । स्थानीयको भान्सा, गोठ र खेतबारीसम्म पुगेको छ । भेडापालन, चौँरीपालन, कृषि र जडीबुटी सङ्कलनमा निर्भर परिवारका लागि बदलिँदो मौसम थप चुनौती बनेको उनले बताए ।
    डा. पन्तका अनुसार जलवायु सङ्कटले सबैलाई समान असर गर्दैन । न्यून आर्थिक क्षमता भएका परिवार, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बढी जोखिममा छन् । जलवायु परिवर्तनमा न्यून योगदान गर्ने हिमाली समुदायले नै ठूलो मूल्य चुकाउनुपर्ने अवस्था देखिएको उनले बताए ।
    चमेलिया जलाधारः संरक्षणको साझा जिम्मेवारी
    करिब सात सयदेखि सात हजार मिटर (अपिहिमाल) उचाइसम्म फैलिएको चमेलिया जलाधार क्षेत्र भौगोलिक र पारिस्थितिक विविधताका दृष्टिले महत्वपूर्ण छ । वातावरणविद् डा. पन्तका अनुसार उपलब्ध अध्ययनले यहाँको औसत तापक्रम सातदेखि १८ डिग्री सेल्सियस, वार्षिक वर्षा करिब एक हजार सात सय मिलिमिटर र औसत जलप्रवाह १७७ घनमिटर प्रतिसेकेन्ड देखाएको छ । जसले गर्दा माथिल्लो र तल्लो तटीय क्षेत्रमा कृषि प्रणालीसहित विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव परेको उहाँ बताउँछन् ।
    चमेलियाका शाखा नदीमध्ये रिठेगाडलगायतका क्षेत्रमा पानीको गुणस्तर घट्दै गएको पनि अनुसन्धानले देखाएको छ । सन् २०२५ को एक अध्ययनले महाकाली नदीको माथिल्लो र तल्लो तटीय क्षेत्र व्यवस्थापनका लागि चमेलिया जलाधारलाई उच्च प्राथमिकता दिनुपर्ने सुझाव दिएको डा. पन्तले बताए ।
    यी तथ्यले जलाधार संरक्षण कुनै एक पालिकाको मात्र जिम्मेवारी नभएको स्पष्ट पार्छ । यसमा अन्तरपालिका, प्रदेश र सङ्घीय सरकारको साझा भूमिका आवश्यक भएको उनले बताए ।
    नदी, शाखा नदी, पानीका मुहान, वनजङ्गल, चरन क्षेत्र र जैविक विविधताको एकीकृत व्यवस्थापन गर्नुपर्ने देखिन्छ । सुक्दै गएका स्रोत पुनर्जीवन, भूजल पुनर्भरण र वर्षाको पानी सङ्कलनसँगै समुदायमा आधारित पानी सुरक्षा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको भूगर्भविद् कमल थापा बताउँछन् ।
    अपिनाम्पा संरक्षण क्षेत्र दुर्लभ वन्यजन्तु र वनस्पतिको आश्रयस्थल हो । रेडपाण्डा, हिउँ चितुवा, कस्तुरी र डाँफेजस्ता प्रजाति यहाँ पाइन्छन् । विभिन्न प्रकारकार बहुमूल्य जडीबुटी उपलब्ध छ । जलवायु परिवर्तन, प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग र मानवीय गतिविधिले यी सम्पदाको अस्तित्वमा चुनौती थपेका थापा बताउँछन् ।
    हिमालको भविष्य जोगाउने साझा संकल्प
    अपिहिमालमा पर्यटनको ठूलो सम्भावना छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, संस्कृति र हिमाली जीवनशैलीलाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सके यो क्षेत्र नेपालको महत्वपूर्ण गन्तव्य बन्न सक्ने भूगर्भविद् थापा बताउँछन् ।
    प्रकृति जोगिएन भने पर्यटनको भविष्य पनि सुरक्षित हुँदैन । त्यसैले विकासलाई सडक, होटल र पर्यटकको सङ्ख्यामा मात्र सीमित गर्न नहुने उनको धारणा छ । उनी भन्छन्, “हिमाल, जलस्रोत, जैविक विविधता र स्थानीय समुदायको जीवनशैली संरक्षणलाई विकासको केन्द्रमा राख्नुपर्छ ।”
    आधार शिविरबाट उठेको जलवायु संवादले हिमाली सङ्कट स्थानीय समुदायको मात्र समस्या नभएको सन्देश दिएको छ । हिमालमा परेको असर नदी हुँदै बस्ती, खेतबारी र मानव जीवनसम्म पुग्छ । त्यसैले यसको संरक्षणमा स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म सहकार्य आवश्यक रहेको थापाले बताए ।
    हिमालबाट उठेको जलवायु न्यायको आवाज
    आधार शिविर क्षेत्रमा अपिहिमाल गाउँपालिकाले आयोजना गरेको अपिहिमाल पर्यटन उत्सव तथा जलवायु संवादमा अपिहिमाल घोषणापत्र–२०८३ जारी गरिएको छ । चमेलिया नदी तटीय क्षेत्रका पालिकाबीच सहकार्य सुदृढ गर्दै हिमाली प्रकृति, जलवायु न्याय र दिगो विकासका लागि साझा प्रतिबद्धता जनाउनु यसको मुख्य उद्देश्य थियो ।
    घोषणापत्रमा जैविक विविधता संरक्षण, पारिस्थितिकीय पुनस्र्थापना, प्राकृतिक स्रोतको दिगो उपयोग, स्थानीय ज्ञान र संस्कृतिको प्रवद्र्धन, जलवायु उत्थानशील जीविकोपार्जन, दिगो पर्यटन तथा अनुसन्धान र नवप्रवर्तनलगायत १७ विषय समेटिएका छन् ।
    यसले हिमाली क्षेत्रका समस्या स्थानीय सीमाभित्र मात्र सीमित नरहेको सन्देश दिएको छ । घोषणापत्रले वन, भूमि, पानी, जडीबुटी र चरन क्षेत्रको वैज्ञानिक तथा न्यायोचित उपयोगमा जोड दिएको छ । परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग जोडेर जलवायु अनुकूलनका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
    महिला, युवा, किसान र सीमान्तकृत समुदायलाई केन्द्रमा राखी हरित रोजगारी, जैविक खेती, जडीबुटी उद्यम तथा नवीकरणीय ऊर्जामा आधारित अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
    हिमाली पदमार्गलाई वातावरणमैत्री बनाउने, प्लास्टिक तथा ठोस फोहोर नियन्त्रण गर्ने, हिमनदी र ताल जोगाउने तथा पानीका मुहान पुनर्जीवन गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।
    पर्यटन, खेलकुद र अन्तर्राष्ट्रिय पहिचान
    अपिहिमाललाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनाउने अर्को आधार उच्च हिमाली खेलकुद हो । गाउँपालिकाको आयोजनामा मैत्रीपूर्ण क्रिकेट र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
    उच्च उचाइमा खेलकुद आयोजना गर्न सके स्थानीय खेलाडीको प्रतिभा प्रस्फुटनसँगै खेल पर्यटनको विकास र क्षेत्रीय पहिचान विस्तारमा सहयोग पुग्न सक्ने विश्वासले खेल आयोजना गरिएको अपिहिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर विष्टले बताए ।
    प्राकृतिक सौन्दर्य र उच्च हिमाली वातावरणलाई पर्यटन तथा खेलकुदसँग जोड्न सके अपिहिमाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्न सक्ने उनको बुझाई छ ।
    प्रकृतिले दिएको अनुपम सम्पदा जोगाउँदै स्थानीय संस्कृति र जीविकोपार्जनलाई पर्यटनसँग जोड्ने अपिहिमालको सपना भएको उहाँले बताए । हिमाललाई केवल पर्यटकीय आकर्षणका रूपमा मात्र होइन । जीवन, सभ्यता, जलस्रोत र जैविक विविधताको आधारका रूपमा बुझ्नुपर्ने उनले बताए ।

    भूमिराज पिठातोली / रासस

    Manoj Khatiwada

    सम्बन्धित समाचार

    आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

    मंसिर ७ २०८३, सोमवार

    थाहा पाउनुहोस् आज २०८३ मंसिर ७ गते सोमबारको राशिफल

    मंसिर ७ २०८३, सोमवार

    थाहा पाउनुहोस् आज २०८३ मंसिर ६ गते आइतबारको राशिफल

    मंसिर ६ २०८३, आइतवार

    यस्तो छ आजको मौसम पूर्वानुमान

    मंसिर ५ २०८३, शनिबार

    थाहा पाउनुहोस् आज २०८३ मंसिर ५ गते शनिबारको राशिफल

    मंसिर ५ २०८३, शनिबार

    नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

    मंसिर ४ २०८३, शुक्रबार
    Leave A Reply Cancel Reply

    ताजा समाचार

    बुढानीलकण्ठ-१ का वडाध्यक्षका उम्मेदवार लामाद्वारा कांग्रेस परित्याग गरेको घोषणा

    मंसिर ६ २०८३, आइतवार159

    काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेस संस्थापन इतरको बृहत् कार्यकर्ता भेला हुँदै

    अशोज ९ २०८३, शनिबार121

    बदलिएको कांग्रेसमा उद्यमशील कुमार खड्काको महाधिवेशन प्रतिनिधिमा दाबेदारी

    अशोज ९ २०८३, शनिबार62

    रास्वपा बुढानीलकण्ठ-१० द्वारा रक्तदान कार्यक्रम आयोजना

    अशोज ३ २०८३, आइतवार51

    ‘मत फरक हुन सक्छ, मन फरक हुनु हुँदैन’- कुमार खड्का

    अशोज १५ २०८३, शुक्रबार48
    समाचार अपडेट
    प्रदेश समाचार

    पर्यटक आगमनमा वृद्धि

    By Manoj Khatiwadaमंसिर ७ २०८३, सोमवार0

    गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी…

    आजदेखि गण्डकी परिक्रमा महोत्सव

    मंसिर ७ २०८३, सोमवार

    माप्य दुधकोशीको खास्तापमा आगलागी, घर, पसल, होटलमा पूर्णरूपमा क्षति

    मंसिर ७ २०८३, सोमवार

    प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

    मंसिर ७ २०८३, सोमवार

    पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

    मंसिर ७ २०८३, सोमवार

    ताजा सूचना, उपयोगी जानकारी, मनोरञ्जन तथा विभिन्न विषयका रोचक ब्लगहरू एकै ठाउँमा। हरेक दिन नयाँ र विश्वसनीय सामग्रीमार्फत तपाईंलाई अद्यावधिक राख्ने हाम्रो प्रयास हो।

    Facebook
    बूढानीलकण्ठ नगरपालिका–१०, काठमाडौं, नेपाल

    Email:
    rastrapati2020@gmail.com

    Phone:
    +977- 9851038986 / 9841219160
    © 2026 Rastrapati. Designed by Namche Web Pvt. Ltd.
    • विज्ञापनको लागि
    • सम्पर्क

    Type above and press Enter to search. Press Esc to cancel.