काठमाडौं– बूढानिलकण्ठ नगरपालिकाका सल्लाहकार दुर्गा प्रसाद आचार्यले नेकपा एमालेका नेता विदुर विक्रम खड्कालाई भौतिक आक्रमण गरेका छन। बुधवार बिहान करिव ८ बजेको समयमा बूढानीलकण्ठ मन्दिर परिसरमा रहेको पुष्पान्जली क्याफेमा आचार्यले खड्कालाई एक्कासी हातपात गरेका हुन्।
सामाजिक संजाल फेसबुकमा भएको कमेन्टको बिबादलाई लिएर आचार्यले एक्कासि आक्रमण गरेपछि खड्काको देब्रे आँखा र चिउँडोमा चोट समेत लागेको बताइएको छ। आफू माथि आक्रमण भएपछी खड्काले प्रहरीमा उजुरी दिएपछि उक्त जाहेरीका आधारमा आचार्यलाई पक्राउ गरिएको छ ।उजुरी गरिएको केहि बेरमा प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएको र हाल महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखेको छ।
नेकपा एमाले काठमाण्डौं जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव समेत रहेका खड्काले आफू सम्पत्ति शुद्दिकरण विभागमा पनि उजुरी दिने तयारीमा रहेको बताएका छन् ।
यसैबीच महानगरीय प्रहरी वृत महाराजगञ्जमा रहेका आचार्यले घटना सम्बन्धमा खड्का संग कुनै हालतमा माफी नमाग्ने बताएको श्रोतले बताएको छ।