ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

राष्ट्रपाटी न्युज

१३ बैशाख २०७९

भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटोचोकमा गए राति ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कुटर चालक काभ्रेपलाञ्चोक घर भई हाल भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरी रहेका छन् ।

उनको उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा राति सवा १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका स्कुटरमा पछाडि सवार म्याग्दी घर भई हाल चाँगुनारायण बस्ने ३३ वर्षीय बिमल श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बा ४ ख ८५८१ नम्बरको ट्रिपरले गए राति साढे १२ बजे बाग्मति प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुबै सवारी साधन र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ ।


Published :१३ बैशाख २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media