काठमाडौँको मतगणना अन्तिम चरणमा, बालेन र सुनितालाई भारी मतको अग्रता

राष्ट्रपाटी न्युज

१२ जेष्ठ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकामा २९ वटा वडाको मतगणना सकिँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ हजार १४९ मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकामा बाँकी ३ वडा १४, १५ र १६ को मतगणना जारी छ ।

हालसम्म कुल एक लाख ८३ हजार ६७९ मत गणना हुँदा मेयर पदमा एक लाख ५४ हजार ८९५ सदर मत परेको छ। जसमा स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो स्थानमा छिन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५९ हजार १४९ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत प्राप्त गरेकी छिन् । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ३७ हजार २१८ मत प्राप्त गरेका छन् ।

यस्तै, चौथो स्थानमा रहनुभएका स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ एमाले उम्मेदवार सुनिता डंगोलले ६६ हजार ८७८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ३१ मतमात्रै पाएका छन् ।

काठमाडौं महानगरमा एक लाख ९१ हजार १८६ मत खसेको थियो । मतगणना आज दिउँसोसम्म सकिने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


Published :१२ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media