नेकपा एसमा मन्त्री फेरबदलको निर्णय २४ घण्टा नबित्दै उल्टियो

राष्ट्रपाटी न्युज

२३ जेष्ठ २०७९

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई फेरबदलको निर्णय गरेको २४ घण्टा बित्न नपाउँदै उल्टिएको छ । आइतबार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले गरेको उक्त निर्णय उल्टिएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले समाजवादीको उक्त निर्णयलाई उल्टाइदिएको हो ।

आइतबार एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको थियो । सोमबार अध्यक्ष माधव नेपाल चार जना सांसदको नाम मन्त्रीका लागि बोकेर बालुवाटार नपुग्दै साविक मन्त्रीहरुमा खैलाबैला भएको थियो । पार्टीले निर्णय गर्नुअघि नै स्वास्थ्यमन्त्री विरोध खतिवडा र पर्यटनमन्त्री प्रेम आले पार्टी कार्यालय पुगेका थिए ।

सचिवालयको निर्णयअनुसार चार जनामा सांसदको नाम सोमबार विहान बालुवाटार पुर्‍याउन अध्यक्ष माधव नेपाल बालुवाटार पुगेका थिए ।

एकीकृत समाजवादी मात्र होइन, कांग्रेस, माओवादी र जसपाका कारण पनि एकीकृत समाजवादीको मन्त्री फेरवदलको निर्णय रोकिएको बुझिएको छ । यद्यपि सत्ता साझेदार दल माओवादी केन्द्र र जसपामा पनि मन्त्रीहरु हेरफेरको माग उठेको थियो ।

 

यसैगरी एकीकृत समाजवादीकै मन्त्रीहरूको गुनासोसहितको दौडधुप, प्रधानमन्त्री शेरबहादुर देउवाको तत्काल मन्त्री फेरबदल नगर्ने इच्छालगायतका कारण पनि समाजवादीको मन्त्री फेरबदल गर्ने निर्णय तत्काल हुन नसकेको हो ।

प्रधानमन्त्री देउवा बजेटमाथि मन्त्रालयगत छलफल हुने बेला मन्त्री फेरबदल गर्न नहुने पक्षमा रहेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेसँगै मन्त्री फेरबदलको प्रक्रिया तत्कालका लागि स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो ।

यसैबीच एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वसहमति अनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल हुने बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेता खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको आफ्नो निर्णय भएको बताए ।

उनले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै अरु कुनै तागतले रोक्न नसक्ने जिकिर गरे ।


Published :२३ जेष्ठ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media