काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले मल होइन माल ल्याउन खोजेको आरोप लगाएका छन् । उनले जबसम्म मलमा माल आउँदैन तबसम्म मल नआउने बताए ।
प्रतिनिधिसभामा बोल्दै सांसद भट्टराईले वर्तमान सरकारले कृषि मलमा अनियमितता गर्न खोजिरहेको बताए । किसानले समयमा मल नपाउनुको कारण सरकारमा रहेका व्यक्तिहरूले नै मल आयातमा अनियमितता गर्न खोजेको आरोप लगाए । उनले किसानको समस्या सम्बोधन गर्न सरकार गम्भीर नभएको बताए ।
उनले भने- ‘मल खोज्न कृषीमन्त्री भारततिर जानुभएको छ । कहाँ पुग्नुभयो ? उहाँको हालखबर के छ ? मल आउँछ कि आउँदैन ? मल लिएर आउनुहुन्छ कि नलिई आउनुहुन्छ ? मल नपाएर थकित भएर कृषिमन्त्री उतै थकित र निर्वासित हुनुभयो की । ’
सांसद भट्टराईले बालीनाली लगाउने बेला भइसकेको भन्दै अहिले मलको हाहाकार भएकोमा सरकार चुप लागेर बसेको बताए ।