काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा एमाले सांसद भीमबहादुर रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास सम्झौताको कार्यान्वयन गर्न गराउन तथा जलविद्युतको धनी राष्ट्र नेपालमा रहेको जलस्रोत क्षमताको राष्ट्रिय हितमा प्रयोग हुने गरी संरक्षण र संवर्द्धन गर्न आवश्यक भएको भन्ने जरुरी सार्वजनिक महत्वको विषयमाथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीको ध्यानाकर्षण गराउने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाबाट सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यो विधेयकमा परेका शंसोधनलाई आजै निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
यसअघि प्रतिनिधिसभाको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेटघण्टी बजाई गणपूरक सङ्ख्या गणना गर्न लगाउँदा गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगित भएको थियो । त्यसअघि मन्त्री कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालसम्बन्धी प्रावधानका सम्बन्धमा परेको संशोधन प्रस्ताव स्वीकार गरेका थिए ।
यस्तै सरकारले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल नयाँ निर्वाचन भई पहिलो बैठक बसेको दिनबाट गणना गरिने उल्लेख थियो । सत्तापक्ष र प्रतिपक्षले नै सो विधेयकका सम्बन्धमा आपत्ति जनाउँदै संशोधन प्रस्ताव पेश गरेका थिए।