दार्चुला पहिरोमा बेपत्तामध्ये पाँचजनाको शव फेला, ७ जना अझै बेपत्ता

धनगढी । दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँचजनाको शव फेला परेको छ । नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरी पाँचजनाको शव फेला परेको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले नौगाड गाउँपालिका–२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको बताए ।

उनले महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको पनि शव फेला परेको बताए ।

महाकाली नगरपालिका–१ का धनसिंह कार्की, उनका छोरा दीपक कार्की र दिनेश कार्कीसहित ३ जना भने बेपत्ता छन् । उनीहरुको घर पहिरोले पुरिएको छ ।

त्यसैगरी महाकाली नगरपालिका–२ मैखोली बस्ने ६३ वर्षीया मानमती शाहु बेपत्ता छिन् भने उनका श्रीमान् ६४ वर्षीय हर्कसिंह शाहुलाई घाइते अवस्थामा उद्धार गरिएको छ । पहिरोमा परेर बेपत्ता भएका अन्य तीनजनाको परिचय खुलेको छैन ।


Published :भदौ २५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media