चितवनमा एक हजार बढीमा डेङ्गु सङ्क्रमण

राष्ट्रपाटी न्युज

२१ आश्विन २०७९

चितवन । जिल्लामा एक हजार २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

यहाँका विभिन्न अस्पतालमा उपचारका क्रममा आएका उनीहरुमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। कार्यालयका अनुसार पाँच हजार दुई सय ८५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु देखिएको हो ।

तीमध्ये ६ सय ९३ जना चितवनका रहेका छन्। दुई सय १७ जना बाहिरी जिल्लाका र एक सय १६ जनाको ठेगाना नखुलेको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। उनका अनुसार डेङ्गुका कारण जिल्लामा दुईजनाको मृत्यु भइसकेको छ ।

जिल्लाभित्र भेटिएका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकामा चार सय ४९, रत्ननगर नगरपालिकामा एक सय तीन, खैरहनी नगरपालिकामा ६३ जनामा डेङ्गु सङ्क्रमण देखिएको कार्यालयलको तथ्याङ्कले देखाएको छ ।

यस्तै, राप्ती नगरपालिकामा ३६, माडी नगरपालिकामा १९, कालिका नगरपालिकामा १८ र इच्छाकामना गाउँपालिकामा पाँचजनामा डेङ्गु देखिएको हो। सङ्क्रमितमध्ये सबैभन्दा बढी पुरुष रहेका छन्। चार सय ६ पुरुष र दुई सय ८७ महिलामा डेङ्गु देखिएको कार्यालयले जनाएको छ ।


Published :२१ आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media